‘रवि, सिके र रेशमलाई अवैधानिक तवरले नियन्त्रणमा लिइन्छ भनेर लेख्या भए हुन्थ्यो’

‘रवि, सिके र रेशमलाई अवैधानिक तवरले नियन्त्रणमा लिइन्छ भनेर लेख्या भए हुन्थ्यो’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सम्पत्ति शुद्धिकरण नीति नयाँ दलको पार्टी सभापतिको सांसद पद खोस्न प्रयोग भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले यस्तो बताएका हुन्।

‘२०६८ सालको नीति तथा कार्यक्रममा सम्पत्ति शुद्धिकरण र आर्थिक अपराधका विषय छन्। यही बीचमा हैन यो देश ग्रे लिस्टमा परेको?,’ उनले भने, ‘अनि त्यो सम्पत्ति शुद्धिकरणको नीति कहाँ प्रयोग भयो भन्दा नयाँ दलको पार्टी सभापतिको सांसद पद खोस्नलाई।’

६८ सालको नीतिमा रुघ्न उद्योगहरुको उत्थानका लागि विशेष कार्यक्रम ल्याइने भनिएकोमा वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन गर्न महावीर पुनले जीवनी लेखेर किताब बेच्दै हिँड्नुपरेको अवस्थाको समेत स्मरण गराए।

गर्न नसकेको विषयलाई नीति तथा कार्यक्रमा स्थान दिइएको भन्दै उनले गरिएका कामहरुको विषयमा उल्लेख नगरिएको भन्दै सरकारप्रति व्यंग्य गरे।

उनले थपे, ‘नयाँ दलहरुमाथि राजनीतिक प्रतिशोध साँधिन्छ। रवि लामिछाने, डा. सिके राउत र रेशम चौधरीहरुलाई अवैधानिक तरिकाले नियन्त्रणमा लिइन्छ भनेर लेखेको भए हुन्थ्यो। राष्ट्रलाइ व्यापक दलीयकरण गरिन्छ, संवैधानिक निकायहरु कब्जा गरिन्छ भनेर पनि लेख्या भए हुन्थ्यो।’

राष्ट्र बैंक र धितोपत्र बोर्डमा भएको राजनीतिकरण बारे पनि ढकालले तिखो टिप्पणी गरे।

‘राष्ट्र बैंक कांग्रेसको भागमा भनेर बहस गरिन्छ। धितोपत्र बोर्ड एमालेको भागमा दिइन्छ। अनुत्पादक क्षेत्र खोजी खोजी लगानी गरिन्छ। भ्यूटावर मज्जासँग बनाइन्छ। त्यो पनि लेख्या भए हुन्थ्यो।’

२९ महिनासम्म सदनभित्र आफ्नो अनुभवको विज्ञता भएको क्षेत्रको बारेमा दिइएको सुझाव अहिलेसम्म नसमेटिएको भन्दै उनले यसपटक नीति तथा कार्यक्रममा सुझाव नदिने बताएका छन्।

उनले भने, ‘यसपटक म यो सरकारलाई सुझाव दिन्न। यो २९ महिना हामीले उठाएका र छेडेका बहसहरुको अपनत्व गठबन्धनका दलहरुले लिँदैनन् भने यसपटक तपाईंहरुलाई सुझाव छैन।’

वैशाख २५, २०८२ बिहीबार १३:४८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।