भारतले पाकिस्तानमा सैन्य कारबाही गरेपछि सशस्त्र प्रहरी बलद्वारा सीमा क्षेत्रमा उच्च सतर्कता

काठमाडौं : भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा आक्रमण गरेपछिको विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।
अवैध घुसपैठ रोक्न सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरीले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा संयुक्त गस्ती, पट्रोल र सूचना आदान–प्रदानलाई तीव्रता दिइएको सह-प्रवक्ता शैलेन्द्र थापाले जानजकारी दिए।
सीमा क्षेत्रमा चौबिसै घण्टा पट्रोलिङ गर्न एक बीओपीबाट अर्को बीओपीसम्म निरन्तर गस्तीको व्यवस्था गरिएको छ। अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि प्रधान कार्यालयबाट सबै बाहिनीपतिहरूलाई विशेष निर्देशन जारी गरिएको छ।
बाहिनी मुख्यालयहरूले सुरक्षा योजना बनाई कार्यान्वयन गरिरहेका छन्। आवतजावत गर्ने व्यक्तिको परिचयपत्र जाँच गरी अभिलेख राख्ने, सम्भावित संवेदनशील स्थानमा निगरानी र सूक्ष्म रूपमा सूचना संकलन गर्ने कार्य पनि भइरहेको छ।
सह-प्रवक्ता थापाका अनुसार सीमा क्षेत्र व्यवस्थित गर्न र अवैध गतिविधि रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग समन्वय गरी सूचना आदान-प्रदान र निगरानीलाई कडाइ गरिएको छ।
नेपाल-भारत सीमामा परम्परागत आवतजावतलाई सहज बनाउँदै असहजता र हैरानी नहोस् भन्नेमा पनि सशस्त्र प्रहरी सचेत छ। साथै, शहरी क्षेत्रका महत्वपूर्ण स्थानहरूमा सुरक्षा निगरानी पनि बढाइएको छ।
वैशाख २५, २०८२ बिहीबार १३:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।