यि पाँच उपाय जसले बन्छ उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित

यि पाँच उपाय जसले बन्छ उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित

काठमाडौँ : इन्जिनियर एवंम सार्वजनिक यातायात विज्ञ आलोक जेनले हङकङमा १५ वर्ष सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन काम गरे। हङकङ एकदमै धेरै सार्वजनिक यातायात प्रयोग हुने शहर मध्येमा पर्छ।

काम गर्नेक्रममा उनले अनुभव गरे ‘चालकको सम्मान नभई यो क्षेत्रमा उल्लेखनीय सुधार सम्भव छैन।’ उनले त्यही रणनीति बनाए। बसलाई आकर्षक बनाउने ‘थ्याङ्क द ड्राइभर डे’  कार्यक्रम शुरु गरे। चालकलाई ‘क्याप्टेन’ भनेर सम्बोधन गर्न थाले।  सँगै ‘ड्राइभर अफ द इयर’ प्रतियोगिता शुरु गरे। 

यसको सकारात्मक प्रभाव देखिन थाल्यो। चालकहरू इन्स्टाग्राम र युट्युबमा  फ्यान क्लबसहित सेलिब्रिटी हुन थाले। चालकहरुले आफ्नो कामलाई गर्वका साथ लिन थाले। यात्रुहरुले सम्मान गर्न थाले। यसले सेवामै सुधार ल्यायो।

संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण र साझा यातायातले आयोजना गरेको ‘ट्रान्सफर्मिङ पब्लिक ट्रान्सपोर्ट इन साउथ एसिया’ नामक कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै उनले भने ‘काम गर्ने मान्छेलाई प्रोत्साहित गर्नु पर्छ। चालकलाई जति धेरै खुशी बनाउन सक्यो उति धेरै सार्वजनिक यातायात सुध्रन्छ। नत्र त गाह्रो पर्छ।’ 

सुधारका लागि सरकारी तहबाट नीति र रणनीति त चाहिन्छ नै। सँगै चालक र  सह-चालकको कामको पनि सम्मान हुनुपर्ने सुनाए उनले। सबैले चालक अनि सह-चालकलाई हेपेपछि सेवा गुणस्तिरय हुन नसक्ने उनको निष्कर्ष छ।

‘नीतिगत गर्नुपर्ने काम त गर्नु नै पर्यो तर व्यवहारिक रूपमा चालकको पेशालाई  सम्मान  गर्ने अनि उनीहरूका कुरा बुझिदिनुपर्छ,’ उनले कार्यक्रममा भने ‘सार्वजनिक यातायात सुधार गर्ने हो भने चालक र सह-चालकको कामको सम्मान गर्ने राज्यको रणनीति हुनुपर्ने बताए। 
 
नेपालमा सार्वजनिक यातायात सुधारका लागि सरकारी तहबाट अध्ययन अनि रणनीति निर्माणमा खर्च भएकै छ। अध्ययन अनुसन्धानकर्ताहरूले अनुसन्धान पनि गरेकै छन्। अनि निजी क्षेत्रले पनि करिब-करिब सार्वजनिक यातायातको जिम्मा लिएकै छन्। तर उपत्यकाको सार्वजनिक यातायातको अवस्था न व्यवस्थित छ न त सम्मानित। 

चालक, सह-चालकको अनुभवमा यात्रु अनि ट्राफिकले हेप्छन्। यात्रुको अनुभव सुन्ने हो भने चालक अनि सह-चालकको व्यवहार ठिक छैन। यसले नीति त भयो नै व्यवहारमा पनि सुधारको आवश्यकता देखाउँछ।

नीत तहको जिम्मा तीनतिर

सार्वजनिक यातायात सुधार्ने हो भने नीति पनि चाहिन्छ। अनि तिनीसँगै त्यसको कार्यान्वयनमा समन्वय। काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनमा सडक विभाग, यातायात व्यवस्था विभाग, महानगरिय ट्राफिक प्रहरी महाशाखा, तीन जिल्लाका  महानगरपालिकाहरू र नगरपालिकाको मुख्य भूमिका देखिन्छ। 

संघिय सरकारले आधा दर्जन जति कार्ययोजना बनाएको छ तर सबै थन्किएका छन्। महालेखापरीक्षकको कार्यालयले २०७८ मा गरेको कार्यमूलक प्रतिवेदनमा पनि तीन तहको सरकारबीच आपसी समन्वय नदेखिएकाले काम नभएको उल्लेख छ। 

यातायात व्यवस्थापनका लागि आवधिक तथा वार्षिक योजनाहरूले मास ट्रान्जिट, मोनोरेल, मेट्रोरेल, अण्डर पास, ओभर पासहरू बाहिरी चक्रपथको घोषणा गरे पनि कार्यन्वयन हुन सकेको छैन। 

संघिय सरकार र प्रदेश सरकारको समन्वय भन्दा पनि किचलोले मुद्धा मामिला परिरहेका छन्। अनि तीन तहका सरकारबीच समन्वयको अभावमा मारमा सेवाग्राही छन्। आवश्यकता अनुसार सवारी संख्या छैन। ननमोटराईज्ड सेवा, सुरक्षित एवंम गुणस्तरीय सेवाबाट सेवाग्राही वञ्चित छन्। पूर्वाधारको अभावमा सडक सुरक्षित छैन। जसको नतिजा सडक दूर्घटना पछिल्लो पाँच वर्षमा ४२ प्रतिशतले बढेको छ। 

ऐन नियम नबनेका पनि होइनन्। सरकारले  समय नै तोकेर कार्ययोजना नबनाएको पनि होइन तर कार्यन्वयन छैन। मेट्रो रेलदेखि मोनो रेलसम्मका योजना छन्। स्मार्ट सर्भिस र वातावरण मैत्री यातायातका साधन उपलब्ध हुन सकेका छैनन्। 

किन त ? नेपाल इन्टरमोडल यातायात विकास बोर्डका कार्यकारी निर्देशक तथा यातायात विज्ञ आशिष गजुरेल यसमा काम गर्ने दृष्टिकोणको अभाव मुख्य समस्या देख्छन्।

‘खासमा तीन तहको सरकार बनेपछि सेवा कसरी दिने भनेर हानथाप हुनुपर्ने हो। तर यहाँ एकले अर्कालाई देखाएर पन्छिने चलन छ,’ उनले भने,’ काम गर्ने आँट र दृष्टिकोण नभएकाले यस्तो भएको हो। अध्ययन अनुसन्धान भएका छन् र गर्न सकिन्छ पनि तर काम गर्ने भिजन नै देखिएन।’ 

कसरी सकिन्छ त सुधार्न ?
उपत्यकाको सार्वजनिक यातायात सुधार्न सरकारी, नीजि तथा गैरसरकारी संस्थाले धेरै कोणबाट अनुसन्धान गरेका छन्। सन् २०२२ मा यातायात व्यवस्था विभागका तुलसीराम अर्याल र जापानी अनुसन्धानकर्ता मासारु इचिहाशी तथा शिन्जी कानेकोले गरेको अध्ययनले उपत्यकाको यातायात प्रणाली सुधार गर्न अधिक प्रविधिको प्रयोग, नीतिगत सुधार, सूचनाको पहुँच र निजीबाट सार्वजनिक यातायातमा चढ्ने बानी बसाल्न काम गर्नुपर्ने औँल्याइएको छन्।  

उनीहरुले कति प्रकारका यातायातका साधन छन्, यात्रुले पर्खनु पर्ने समय, एक किलोमिटरको भाडा, यात्रा समय प्रति किलोमिटर, र भुक्तानीको तरिकाबारे अध्ययन गरेका थिए। उक्त अध्ययनले ७३% यात्रुहरूले यातायात नीति नै परिवर्तन गर्नु पर्ने बताएका थिए। 

अधिकांशले मास र्यापिड ट्रान्जिट (धेरै यात्रुलाई छिटो, सुरक्षित, नियमित र व्यवस्थित ढंगले यात्रा गराउने) मा जान इच्छुक रहेको देखाएको थियो। अर्कोतर्फ, अध्ययनले मोटरसाइकलप्रति नकारात्मक धारणा देखाएको थियो। अध्ययनमा काठमाडौँ जस्तो भीडभाड भएको शहरमा सस्तो दरमा उपलब्ध तीव्र यातायात प्रणाली अत्यन्तै प्रभावकारी हुने उल्लेख छ। 

यातायात विज्ञ आशिष गजुरेल अहिले भइरहेका योजना कार्यन्वयन भए यातायात क्षेत्र काठमाडौँको मात्रै होइन अन्य शहरको समेत सुध्रने बताउँछन्।

'उपत्यकाले केही नमुनाका रूपमा काम गरेर अहिले भइरहेका कार्ययोजना कार्यन्वयन गर्ने हो भने यातायात क्षेत्र सुध्रन्छ,’ उनले भने,’यातायात सुधार्न कुनै पनि तहका सरकारले चासो नदिदा यो हविगत भएको हो।’

सार्वजनिक यातायात सुधार्ने नै राज्यले हो 
आशिष गजुरेल 
यातायात विज्ञ
नेपालमा सार्वजनिक यातायातको इतिहास हेर्दा ट्रली बस सन् २००८ मा बन्द भइसक्यो।  हेटौंडाबाट रोपवे जस्ता वैकल्पिक यातायातका माध्यम पनि नभएका होइनन्।  अहिले सार्वजनिक यातायात क्षेत्रमा धेरै संचालक छन्, अनुमानित रूपमा करिब ४ लाख सार्वजनिक बस सञ्चालनमा छन् भने ६५ लाख सवारी साधन दर्ता भएका छन्। तर समस्या के छ भने, उपयुक्त समयमा प्यासेन्जर पाउने अवस्था छैन।
राज्यले अहिलेसम्म सार्वजनिक यातायातलाई व्यवस्थित ढंगले नियमन गर्न सकेको छैन। हाल त राज्यले केवल टिकट दर मात्र तोक्ने काम गर्छ, तर समय तालिका, बसको नियमितता, सेवा गुणस्तरजस्ता कुराहरू बेवास्ता भएका छन्। गाडी आउँछ कि आउँदैन भन्ने निश्चित नभएकाले यात्रुलाई सार्वजनिक यातायातमा भर पर्नै गाह्रो भएको छ।
शहरमा सार्वजनिक यातायातको सञ्जाल नहुँदा नागरिक बाध्य भएर निजी गाडी चढिरहेका छन्। नयाँ मेयरहरूबाट पनि कुनै स्पष्ट योजना आएको देखिँदैन। पूर्वाधार जस्तै साइकल लेन, पैदल मार्ग, र अपांगता भएका नागरिकलाई सहुलियत हुने संरचना निर्माणको विषयमा चासो कम हुँदै गएको छ। अहिलेका बाटाहरु मुख्यतः निजी गाडीका लागि मात्र बनाइएको देखिन्छ। जोखिमयुक्त बाटाहरु छन्, तर सुधार्ने कुनै छाँट छैन।
शहरका संरचनाहरू  बिग्रँदै गएका छन्। काठमाडौं जिल्ला हेर्ने हो भने, फुटपाथको अभाव छ, ग्रेनाइट हाल्ने काम चर्चाका लागि मात्र भइरहेको छ। कम आय भएका वर्गका लागि अनुकूल शहर बनाउने सोच देखिँदैन, केवल ‘झिल्के’ र 'सजावटमुखी' योजनामा केन्द्रित भएका छौं।
सार्वजनिक यातायात राम्रो भएमा पत्रिका पढ्न, फोन गर्न, समय बचत गर्न, र सामाजिक तथा आर्थिक गतिविधिमा योगदान गर्न सकिन्थ्यो। तर अहिले नागरिकहरूको सार्वजनिक यातायातप्रतिको विश्वास हराएको छ। जसले गर्दा प्रत्येक व्यक्तिले अनिवार्य रूपमा निजी गाडी चाहिने अवस्था आएको छ। यसको मुख्य कारण भनेकै भरपर्दो सार्वजनिक यातायात  सेवा प्रणालीको अभाव हो।
समाधानको रूपमा, एकीकृत सार्वजनिक यातायात योजना आवश्यक छ। सार्वजनिक यातायात प्राधिकरणलाई ‘एउटा कम्पनी’मा रुपान्तरण गर्नुपर्छ, जहाँ ५१ प्रतिशत शेयर राज्यको, ४९ प्रतिशत निजी क्षेत्रको रहने व्यवस्था होस्। 
यसले उपत्यकालाई एकीकृत सेवा प्रणालीमा जोड्नेछ। थापाथली आसपास जस्ता क्षेत्रहरूमा बसको सञ्जाल मिलाउने, विद्युतीय टिकट प्रणाली लागू गर्ने, मूल्यांकनका आधारमा बसको भारअनुसार सञ्चालन अनुमति दिने जस्ता सुधार गर्न सकिन्छ।
एकीकृत टिकट प्रणाली, समय तालिका अनुसार बस सञ्चालन, एउटै टिकटबाट विभिन्न सेवामा यात्राको सुविधा दिने व्यवस्था लागु गर्न सकिन्छ। सेवाको भरपर्दो पन र नियमिततामै भर पर्ने यातायात सेवा नै दीगो समाधान हो। ट्याक्सी चढेर यात्रा गर्नु सबैका लागि सम्भव छैन।
सार्वजनिक यातायातले अन्य आर्थिक क्षेत्रलाई सघाउँछ-नाफा वा घाटा भन्दा पनि यो आधारभूत सेवा हो। यो एयरलाइन्स वा मेट्रो रेलकै जस्तै राज्यले नेतृत्व गर्नुपर्ने विषय हो। साझाले पनि राम्रो सेवा दिन सकेको छैन, निजी क्षेत्रको साझेदारीमा नयाँ मोडल बनाउन सकिन्छ। सरकारले विद्युत प्राधिकरणको जस्तै मोडेलमा कम्पनीभित्रै लगानी गरेर राज्यको हस्तक्षेप र नियमन कायम राख्न सकिन्छ।  
व्यवस्थापनमा दक्षता आवश्यक छ। सफल व्यवस्थापनबाट सेवा सुधार हुन्छ। राज्यले कार्यान्वयन गर्नुपर्ने हो- निजी क्षेत्रमा मात्रै निर्भर भएर समाधान आउँदैन।
यातायातका विषयमा ज्ञान भएका व्यक्तिहरूलाई नेतृत्वमा ल्याउनु जरुरी छ। ‘यातायात प्राली’ बनाउने हो भने, त्यहाँ सीईओ देखि कर्मचारीसम्म अनुभवी र बुझेका हुनुपर्छ। ट्रली बस बन्द हुँदा १९९० पछि पहुँच त बढ्यो, तर सेवा अझै सुधारिएन।
कम्पनी सञ्चालनको लागि माग र पूर्ति अनुसार करिब २० हजार बस आवश्यक पर्छ। यी बसहरू वर्गीकृत गर्ने-साना, मझौला र ठूला। सम्पूर्ण सेवा प्रणाली एकीकृत हुनुपर्छ- रुट, समय तालिका, भाडादर, टिकट प्रणाली सबै समन्वयमा चल्नुपर्छ। बसले जति प्यासेन्जर बोक्छ, त्यसैको आधारमा कलेक्सन हुनेछ। कलेक्सन कम्पनीमै आउनेछ, जहाँ सरकारी र निजी साझेदारीमा बोर्ड गठन हुनेछ।
अस्वस्थ प्रतिस्पर्धा अन्त्य नगरी समस्या समाधान सम्भव छैन। निजी क्षेत्रलाई पूर्ण रूपमा जिम्मा दिँदा सेवा गुणस्तरमा ह्रास आउँछ। राज्यको पूर्ण नेतृत्वमा निजी क्षेत्रलाई व्यवस्थापनको रूपमा समावेश गर्नु सबैभन्दा उपयुक्त मोडल हुनेछ।
ट्राफिक नियम कार्यान्वयनमा पनि दुई पक्षको ध्यान हुनुपर्छ-कारबाही र जनचेतना। ट्राफिक बत्ती राख्ने, नियम पालना गराउने, पूर्वाधार बनाउने जिम्मा भौतिक पूर्वाधार मन्त्रालय तथा सम्बन्धित विभागको हो। स्थानिय तहलाई पनि अधिकार दिइएको छ-काठमाडौंका मेयरहरू चाहेमा केही गर्नबाट रोकिएको छैन। तर उनीहरू उत्सुक र उर्जाशील भएर काम गरेको देखिँदैन। सिइओ नियुक्ति हुन सकेको छैन, काम गरिए पनि त्यसको प्रभाव देखिएको छैन।
महासंघहरूले पनि ठोस योजना अघि सारेका छैनन्। स्थानीय सरकारहरू नै आफ्नो सार्वजनिक यातायात योजना बनाउने हो भने त्यो मोडल अन्य पालीकाहरूमा पनि कार्यान्वयन गर्न सकिन्छ। एकैपटक सबै ठाउँमा लागू गर्न नसके पनि क्रमशः विस्तार गर्न सकिन्छ।

प्राधिकरण मोडलको आवश्यकता 
सार्वजनिक यातायातमा निजी क्षेत्रको लगानी विश्वभरि देखिन्छ। त्यसैले यस्तो सेवा कसले नियमन गर्ने भन्ने प्रश्न उठ्दा ‘प्राधिकरण मोडल’ को अवधारणा अघि सारियो।

नेपालको संविधानअनुसार यातायात क्षेत्र प्रदेश सरकारअन्तर्गत देखिन्छ भने कार्यविस्तारमा स्थानीय तहको समेत अधिकार छ। तर, काठमाडौं उपत्यकाजस्तो ठाउँ, जहाँ तीनवटै तह सक्रिय छन्, त्यहाँ समन्वयको अभाव देखिन्छ।

२०७९ मा ल्याइएको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरणसम्बन्धी ऐन’ स्वायत्त मोडलमा आधारित छ। अध्यक्ष काठमाडौं महानगर प्रमुख, सचिव प्रदेश सरकारको यातायात सचिव हुने, र तीन तहबीच समन्वय गर्ने जिम्मा प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको छ। ऐनले पाँच-दश वर्षपछि मूल्यांकन गर्ने व्यवस्था गरेको छ।

प्राधिकरणको आफ्नै कोष र संरचना भए पनि संघीय सरकारले हालसम्म बजेट नदिएको र कर्मचारी व्यवस्थापन नहुनु मुख्य चुनौती बनेको छ। २०८० जेठमा परिषद् गठन भए पनि असोजमा प्रदेश सरकारले अदालतमा मुद्दा हालेपछि काम ठप्पप्रायः भयो। रुट वितरण र १३ अर्बको राजस्व हानि भएको भन्दै ‘अधिकार हनन’को मुद्दा दायर गरिएको हो।

अहिले प्राधिकरण काम गरिरहेको छ, तर अन्तिम आदेश नआएसम्म गति सीमित छ। लोकसेवाबाट स्थायी दरबन्दी आउन बाँकी छ। यसले व्यवस्थापन, तलब-भत्ता, र पूर्णकालिक संलग्नतामा असर पारिरहेको छ। ‘निषेध’ मात्रै होइन, विकल्प दिने नीति अब मुख्य विषय बन्न थालेको छ।

पब्लिक ट्रान्सपोर्ट रिफर्मको अवधारणामा आधारित एउटा प्रस्ताव तयार पारिँदैछ, जसमा अन्तर्राष्ट्रिय अभ्यास र १० वर्षको योजना विश्व बैंकको सहयोगमा विकास भइरहेको छ। कोलम्बिया र ब्राजिलजस्ता देशहरूले अत्यन्तै जटिल सार्वजनिक यातायात समस्या समाधान गरेका छन्। हामी पनि त्यो बाटोमा अगाडि बढ्न सक्छौँ।

सुधारका सम्भावना छ 
अहिले करिब खर्बभन्दा बढीको लगानी सार्वजनिक यातायातमा संलग्न छ। तर, कुनै पनि रुटमा यात्रुको माग अनुसारको डेटा छैन। ‘ओभरल्याप’ भएका रुटहरू हटाउने र साइजअनुसार गाडी परिचालन गर्ने नीति आवश्यक छ।

यसले मास ट्रान्जिट करिडोर जस्तै रिङरोड, काठमाडौं-भक्तपुर मार्गलाई प्राथमिकता दिइनेछ। ५०-६० सिटको बस ती ठाउँमा चलाउने, समितिहरूलाई मर्ज गरेर सक्षम बनाउने र पुराना गाडीलाई हटाउँदै नयाँ भर्नेसम्मका योजना छन्।

यसका लागि, प्राधिकरणमा सूचीकृत हुनुपर्नेछ। सवारी संख्या, समय, स्थान आदिको डेटाबेस निर्माण भइरहेको छ। सफ्टवेयर रेडी भइसकेको छ। यद्यपि जनमानसले देख्ने खालको काम अझै थालिएको छैन।

सार्वजनिक सहमति र बुझाइ अत्यावश्यक छ। ड्राइभर र कन्डक्टरको तालिम, तलब, सुरक्षाको व्यवस्था, सबै सुधारको अङ्ग हुन्। अन्यथा, व्यवस्थापन विफल हुँदा ब्राजिलजस्तै हिंसात्मक घटनाहरू पनि हुन सक्छन्।

प्राधिकरण अब अब डिजिटल पेमेन्टमा जाने तयारीमा छ।  ई-पेमेन्ट प्रणाली ल्याउन अध्ययन भइरहेको छ। अहिलेका लागि कार्ड प्रणाली सबैभन्दा व्यावहारिक देखिएको छ। यसका अलावा प्राधिकरणले सार्वजनिक गरेको एपमार्फत कुन गाडी कति बजे कहाँ आइपुग्ने हो, त्यो ट्र्याक गर्न सकिनेछ।

सार्वजनिक यातायातमा सरकारले अनुदान नदिए पनि निजी लगानीका आधारमा काम अघि बढिरहेको छ। अदालतले मुद्दामा अन्तरिम आदेश नदिइएकोले अहिले पुन: काम सक्रिय छ। यातायात व्यवसायी महासंघहरूसँग सहकार्य भइरहेको छ। अबको छ महिनाभित्र योजनाहरू कार्यान्वयनमा जानसक्ने देखिन्छ। 

मुद्दाले काम गर्न अप्ठ्यारो भयो 
कुबेर नेपाली
सह-सचिव, सडक विभाग 
सङ्घीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणमा अर्को कार्यकारी निर्देशक नतोके सम्मका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक सह-सचिवलाई जिम्मा दिने ऐनमा भएको व्यवस्था बमोजिम म कार्यकारी निर्देशक भएको हुँ। 
काम शुरू नै नभइ मुद्धा पर्यो। प्रदेश सरकारले मुद्धा हालेको छ। सडक विभागमा रहेका केही कर्मचारीले पूरै समय दिएर प्राधिकरणमा काम गर्न पाउनु भएको छैन। प्राधिकरणले कुनै कर्मचारी ल्याउने अवस्था पनि छैन। 
सार्वजनिक यातायातको अवस्था राम्रो नभएर न त यात्रुहरू सन्तुष्ट छन्, न त यसमा संलग्न व्यवसायीहरू। सामाजिक सुरक्षा, दिगोपन, र पेशागत मर्यादाको अभावका कारण यो क्षेत्र आजसम्म ‘मर्यादित पेशा’को रूपमा स्थापित हुन सकेको छैन।
सार्वजनिक यातायात सेवा लिने यात्रुहरू पनि निकै पिडित छन्। अत्यधिक अव्यवस्थापन र भरपर्दो प्रणालीको अभावले गर्दा जनसाधारणले दैनिक रूपमा सास्ती भोग्नुपरेको छ। यसलाई सुधार गर्ने प्रयत्न धेरै अघिदेखि भइरहे पनि अपेक्षित परिणाम भने देखिएको छैन।
सङ्घीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण गठनले यि समस्याहरू सामाधान गर्ने प्रमुख लक्ष्य राखिएको थियो ।
हुन त यस भन्दा अघि पनि सार्वजनिक यातायातको क्षेत्रमा केही काम भएका हुन् । सन् २००४/०५ मा एशियाली विकास बैंक (ADB) को सहयोगमा Kathmandu Sustainable Urban Transport Project (KSUTP) सुरु गरिएको थियो। सन् २००९ मा यसको औपचारिक उद्घाटन समेत भएको थियो।
यस परियोजनाको उद्देश्य काठमाडौँको मुख्य चोकहरूको सुधार, भित्री सडक क्षेत्रलाई सुधार गर्दै कोर एरियामा पैदल यातायात प्रवर्द्धन गर्नु थियो। तर यसको प्रमुख समस्या बनेको थियो  रुट निर्धारणको अव्यवस्था।
कसरी र कसको निर्णयमा रुट निर्धारण हुन्छ भन्ने स्पष्ट मापदण्ड नहुँदा यातायात प्रणाली अस्तव्यस्त भयो। त्यस परियोजनाले रुटहरूलाई प्राथमिक, द्वितीय, र तृतीय तहमा विभाजन गरेर एउटा राम्रो मोडल प्रस्तुत गरेको थियो। करिब ३-४ सय बस ऋणमार्फत ल्याउने प्रस्ताव पनि त्यसबेला थियो।
तर, यिनै अवधिमा सुरू भएका सडक विस्तारका अन्य परियोजनाले KSUTP लाई कमजोर बनायो। परिणामत त्यो परियोजना दीर्घकालीन रूपमा सफल हुन सकेन।

श्रृंखलाका अन्य सामग्री

वैशाख २५, २०८२ बिहीबार १६:४१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।