पब्लिकेसन नेपालयको पुस्तक मेला शनिबारदेखि, ६० प्रतिशतसम्म छुट

काठमाडौं : २० वर्षे यात्राको अवसरमा पब्लिकेसन नेपालयले यही वैशाख २७ र २८ गते दुई दिने विशेष पुस्तक मेला आयोजना गर्ने भएको छ।
मेलामा नेपालयका पुस्तकहरूमा ६० प्रतिशतसम्म छुट प्रदान गरिने छ भने लेखकहरूसँग भेटघाट र हस्ताक्षर सत्र पनि हुनेछ।
मेलाको उद्घाटन जीवनकुमार प्रसाईंको नयाँ पुस्तक ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’ बाट हुनेछ। उक्त पुस्तक इमोसनल इन्टेलिजेन्समा आधारित छ।
प्रसाईंले यसअघि नेपालयबाटै प्रकाशित पुस्तक ‘जीवन जिउने काइदा’ ले निकै लोकप्रियता कमाएको स्मरण गरे।
मेलामा ३० भन्दा बढी लेखकको उपस्थिति रहनेछ, जसमा नारायण वाग्ले, कुमार नगरकोटी, आनी छोइङ डोल्मा, श्रवण मुकारुङ लगायत छन्।
कवि मुकारुङको संयोजनमा समापन काव्य अनुष्ठान हुनेछ, जहाँ १५ जना कविले कविता पाठ गर्नेछन्।
नेपालयले नयाँ लेखकका लागि ‘२०२५ मा २५ का २५’ शीर्षकमा कथा, कविता, निबन्ध आह्वान गरिसकेको छ।
यस्तै खुला रचना, मासिक प्रकाशन, आरशालामा पुस्तक पसल सञ्चालनजस्ता अभियानहरू अघि बढाउने नेपालयको योजना छ।
नेपालयका अनुसार यो मेला लेखक, पाठक र समीक्षकबीचको अन्तरक्रिया र साहित्यिक उत्साहको सशक्त माध्यम बन्नेछ।
वैशाख २५, २०८२ बिहीबार १०:३९:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।