उत्तराखण्डको उत्तरकाशीमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी : भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित गंगनानीमा बिहीबार एक हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनाग्रस्त हेलिकप्टर गंगोत्री धामतर्फ जाँदै थियो।
दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी, राष्ट्रिय विपद् प्रतिक्रिया बल, राज्य विपद् प्रतिक्रिया बल र अन्य उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन्।
स्थानीय प्रशासनका अनुसार उद्धार कार्य जारी रहेको छ भने घाइतेलाई उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको छ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले प्रशासनलाई घाइतेहरूलाई सबै सम्भव सहायता उपलब्ध गराउन र दुर्घटनाको कारणको छानबिन गर्न निर्देशन दिएका छन्।
दुर्घटनाको कारणबारे हालसम्म स्पष्ट जानकारी आएको छैन। भारतीय नागरिक उड्डयन प्राधिकरणले घटनाको अनुसन्धान सुरू गरिसकेको बताइएको छ।
वैशाख २५, २०८२ बिहीबार १०:३५:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।