‘अपरेशन सिन्दूर’पछि पनि जम्मू-कश्मीरमा गोलाबारी कायमै, मध्यरातमा अमृतसर र जालन्धरमा छ विस्फोट

‘अपरेशन सिन्दूर’पछि पनि जम्मू-कश्मीरमा गोलाबारी कायमै, मध्यरातमा अमृतसर र जालन्धरमा छ विस्फोट

एजेन्सी : ‘अपरेशन सिन्दूर’ सञ्चालन गरिएको २४ घण्टाभित्रै पाकिस्तानले बिहीबार लगातार दोस्रो रात जम्मु कश्मीरका चार विभिन्न क्षेत्रमा गोलाबारी गर्यो।

कुपवाडा, बारामुल्ला, उरी र अखनूर क्षेत्रहरूमा पाकिस्तानी सेनाले नियन्त्रण रेखा पार गर्दै गोली प्रहार गरेपछि भारतीय सेनाले पनि जवाफी कारबाही गर्यो।

हालसम्म दुवै पक्षबाट कुनै हताहतको पुष्टि भएको छैन। तर, बुधबार पुंछ क्षेत्रमा भएको गोलीबारीमा भारतीय सेनाका १५ सदस्यको मृत्यु भएको थियो।

त्यसैबीच, बुधबार र बिहीबारको मध्यरातमा पञ्जाबका अमृतसर र जालन्धरमा विस्फोटको आवाज सुनिएको छ। अमृतसरमा राति १:०२ देखि १:०९ बजेसम्म छ वटा विस्फोटको आवाज सुनिएको थियो। विस्फोटको कारण भने अहिलेसम्म स्पष्ट भएको छैन।

अमृतसरका प्रहरी आयुक्त गुरप्रीत सिंह भुल्लरले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। उनका अनुसार घटनास्थलको प्रारम्भिक जाँचमा कुनै किसिमको आतंकवादी आक्रमणको प्रमाण भेटिएको छैन।

यसअघि, मे ६ को बिहान १:०५ बजे भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीर (पीओके) मा हवाई हमला गरेको थियो।

उक्त आक्रमणमा जैश-ए-मोहम्मदका प्रमुख मौलाना मसूद अजहरका १० जना पारिवारिक सदस्यसहित १०० भन्दा बढी आतंककारी मारिएको भारतीय सेनाको दाबी छ। हमला आतंकवादी लुकेका कम्तीमा ९ ठाउंलाई लक्षित गरी गरिएको थियो।

वैशाख २५, २०८२ बिहीबार १०:२७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।