स्वास्थ्य बीमाको नवीकरण अब डिजिटल वालेटबाटै

स्वास्थ्य बीमाको नवीकरण अब डिजिटल वालेटबाटै

काठमाडौं : अब स्वास्थ्य बीमाको नवीकरण अनलाइन माध्यमबाट, पेमेन्ट वालेट तथा आइपीएसजस्ता सेवा प्रदायकमार्फत गर्न सकिने भएको छ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेका अनुसार, यो सुविधा नागरिक एपसँग लिंक गरेर सुरु गरिएको हो।

मोबाइल फोनमै बीमा नवीकरण गर्न सकिने भएपछि सेवाग्राहीलाई ठूलो सहजता हुने बोर्डको विश्वास छ। यससँगै बीमा सेवाको पहुँच विस्तार र नवीकरण दरमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हालै प्रस्तुत गरेको सुधार योजनाअनुसार, अब नागरिकले आफू बसेको स्थानबाटै स्वास्थ्य बीमाको सेवा लिन सक्नेछन्।

साथै, पहिले बीमा दर्तापछि सेवा लिन तीन महिना कुर्नुपर्ने व्यवस्था अब घटाएर एक महिना बनाइएको छ। मन्त्रिपरिषद् बैठकबाट स्वीकृत यस प्रस्ताव कार्यान्वयनमा आइसकेको छ।

स्वास्थ्य बीमाको अनलाइन नवीकरणको निर्णय यसअघि नै भए पनि व्यवहारमा लागू भएको थिएन। अब भने यो सेवा औपचारिक रूपमा सुरू भएको स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेस मल्लले जानकारी दिए।

हालसम्म एजेन्टमार्फत मात्र बीमा नवीकरण गर्न सकिने व्यवस्था थियो, जसले इच्छाएको समयमा बीमा नवीकरण गर्न चाहनेलाई समस्या हुने गरेको थियो।

वैशाख २५, २०८२ बिहीबार ०९:५०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।