कोलम्बिया विश्वविद्यालयबाट ७० भन्दा बढी प्यालेस्टाइन समर्थक प्रदर्शनकारी पक्राउ

काठमाडौं : न्यूयोर्क प्रहरीले बुधबार कोलम्बिया विश्वविद्यालयको मुख्य पुस्तकालयबाट ७० भन्दा बढी प्यालेस्टाइन समर्थकलाई पक्राउ गरेको छ।
पुस्तकालयको एक भाग कब्जा गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको विश्वविद्यालयकी अध्यक्ष क्लेयर शिपम्यानले जनाएकी छन्।
उनका अनुसार, प्रदर्शनकारीहरूले जबरजस्ती बटलर पुस्तकालयमा प्रवेश गरेका थिए।
घटनाका क्रममा विश्वविद्यालयका दुई सुरक्षा अधिकारी घाइते भएको उनले जानकारी दिइन्। शिपम्यानले अवस्था नियन्त्रण गर्न न्यूयोर्क प्रहरी विभागसँग सहयोग मागिएको बताइन्।
न्यूयोर्क शहर प्रहरी विभागले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै कोलम्बिया विश्वविद्यालयको अनुरोधमा प्रहरी परिचालन गरिएको पुष्टि गरेको छ।
प्रहरीले जनाएको छ, ‘क्याम्पसमा धेरै व्यक्तिहरूले पुस्तकालय कब्जा गरेपछि, कोलम्बिया विश्वविद्यालयको आग्रहमा स्थिति नियन्त्रणमा लिन कारबाही गरिएको हो।’
विश्वविद्यालयकी अध्यक्ष शिपम्यानले अधिकांश प्रदर्शनकारीहरू कोलम्बिया विश्वविद्यालयका विद्यार्थी नभएको दाबी गरेकी छन्।
वैशाख २५, २०८२ बिहीबार ०९:२८:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।