जुम्लाका ४८० घरधुरी तीन महिनादेखि अन्धकारमा

जुम्ला : गुठीचौर गाउँपालिका-१ का ४८० घरधुरी तीन महिनादेखि विद्युत् सेवाबाट वञ्चित भएका छन्।
अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँ अन्धकारमा बस्न बाध्य भएका हुन्।
स्थानीय परेक ऐडीका अनुसार आयोजनाको ५५ किलोवाट क्षमताको जेनरेटर र ट्रान्समिटर गत फागुनदेखि बिग्रिएपछि बिजुली आपूर्ति ठप्प भएको हो।
तर, तीन महिनासम्म समस्या समाधानमा सरोकारवाला निकायले चासो नदेखाएको स्थानीयवासीको गुनासो छ।
बिजुली अभावले बालबालिकाको अध्ययन, मोबाइल चार्ज, कुटानी-पिसानी मिल र फर्निचर उद्योग जस्ता दैनिक सेवा र उत्पादनमूलक कामकाजमा असर परेको स्थानीय गणेश ऐडीले बताए।
लघुजलविद्युत् आयोजनाका अध्यक्ष जितेन्द्र लामाले आर्थिक अभावका कारण मर्मत सम्भव नभएको बताए।
यसैबीच, गुठीचौर गाउँपालिका-१ का वडाध्यक्ष अर्जुनकुमार महताराले मर्मतका लागि तीन लाख रुपैयाँ विनियोजन गरिएको र आवश्यक परे थप बजेटको व्यवस्था गरिने जानकारी दिए।
उनका अनुसार विद्युत् सेवा पुनः सञ्चालनका लागि चाँडै आवश्यक प्रक्रिया अघि बढाइनेछ।
वैशाख २५, २०८२ बिहीबार ०८:४५:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।