रोहित शर्मा : सपना देख्ने बालकदेखि इतिहास रच्ने कप्तानसम्म

रोहित शर्मा : सपना देख्ने बालकदेखि इतिहास रच्ने कप्तानसम्म

एजेन्सी : बारबाडोसको उज्यालो मैदानमा जब सन् २०२४ को टी२० विश्वकपको अन्तिम बल खेलियो, तब भारतीय खेलाडीहरू खुसीले अँगालो हाल्दै दौडिए, उफ्रिए र केही भावुक पनि भए।

त्यहाँ एउटा अनुहार यस्तो पनि थियो- जसमा जीतको चमकसँगै विदाइको चुप्पी मिसिएको थियो। त्यो अनुहार थियो, कप्तान रोहित शर्माको।

२०२४ को टी-२० विश्वकप जितेपछि उनले घोषणा गरे, ‘यो मेरो अन्तिम टी-२० अन्तर्राष्ट्रिय खेल हो।’

टी२० क्रिकेटबाट सन्यास घोषणा गरेको केही महिनापछि उनले सेतो जर्सी अर्थात् टेस्ट क्रिकेटबाट पनि बिदा लिएका छन्।

बुधवारको बिहान उनले इन्स्टाग्राममा लेखे, ‘सेतो जर्सीमा देशको प्रतिनिधित्व गर्नु गौरवको विषय रह्यो। म अब टेस्ट क्रिकेटबाट सन्यास लिइरहेछु। यत्रा वर्षको साथ, समर्थन र मायाका लागि सबैलाई धन्यवाद।’

तर यो स्टोरी केवल एक सुपरस्टारको विदाई मात्र होइन, यो कथा हो- त्यस्तो बालकको, जसको घरमा क्रिकेटको ब्याटभन्दा पहिले चुल्हो कसरी बाल्ने भन्ने चिन्ता हुन्थ्यो।

बोरिवलीको गल्लीबाट बारबाडोससम्म
सन् १९९९। भारत विश्वकप खेल्दै थियो। मुम्बईको एक कुनामा १२ वर्षीय रोहित शर्मा क्रिकेट खेल्न आतुर थिए। तर, जीवनको स्कोरबोर्डमा आर्थिक अवस्थाले साथ दिने अवस्था थिएन।

पिता गुरुनाथ शर्मा एउटा ट्रान्सपोर्ट गोदाममा काम गर्थे। महिनाको कमाइ यति थोरै कि छोराको क्याम्प फी तिर्न गाह्रो पर्थ्यो। त्यसैले रोहित, बाबुको घर होइन, काका र हजुरबुबाको सानो कोठामा हुर्किए।

त्यो वर्ष, एउटा स्थानीय म्याचमा उनले ‘स्वामी विवेकानन्द’ स्कुलविरुद्ध निक्कै उत्कृष्ट पारी खेले। त्यो पारीले उनको जीवन बदलिदियो।

कोच दिनेश लाडले स्कुल सञ्चालक योगेश पटेलसँग भने, ‘यो केटा असल खेलाडी हो, तर २७५ रुपैयाँ फी तिर्न सक्दैन। यसलाई स्कलरशिप दिनुपर्छ।’

आज ५४ वर्षका योगेश पटेल स्मरण गर्छन्, ‘हामीले विश्वास गर्यौं र त्यो निर्णय सही सावित भयो।’

नयाँ स्कुल, नयाँ अवसर। रोहितले केही महिनामै १४० रनको नटआउट इनिङ खेले, र मुम्बईका मैदानहरूमा उनको नाम गुञ्जिन थाल्यो।

शिवाजी पार्कको माटोमा जहाँ सचिन, कांबली, आमरेहरू हुर्किए- त्यही माटोमा एउटा अर्को नायकको जन्म हुँदै थियो।

वर्षहरू बिते, संघर्षहरू साथ रहे, चोट लागे, आलोचनाहरू भए, तर रोहित हारेनन्। उनी हरेक पटक फेरि ब्याट उठाउँथे, फेरि रन बटुल्थे।

‘२०२४ मा सपना पूरा भयो’
२००७ मा जब उनले आयरल्यान्डमा भारतका लागि डेब्यु गरे, भारतले त्यही वर्ष पहिलो टी-२० विश्वकप जितेको थियो। १७ वर्षपछि, उनले अन्तिम टी-२० खेल्दा पनि भारत च्याम्पियन बन्यो।

त्यो बेलामा रोहितले भनेका थिए, ‘जीवन एक चक्र हो। मैले २००७ मा सपनाको सुरुवात गरेँ, आज त्यो चक्र पूरा भयो।’

४० वर्ष नजिकिँदै गर्दा रोहित शर्मा टेस्ट र टी-२० बाट बिदा भएका छन्। तर यो पूर्णविराम होइन, उनी वनडे क्रिकेटमा भारतको प्रतिनिधित्व गरिरहनेछन्।

बीबीसीबाट

वैशाख २५, २०८२ बिहीबार ०८:११:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।