भारत-पाकिस्तान बढ्दो तनाव : आतंकी मसूद परिवारका १० जना मारिए, ११ भारतीयको मृत्यु

भारत-पाकिस्तान बढ्दो तनाव : आतंकी मसूद परिवारका १० जना मारिए, ११ भारतीयको मृत्यु
भारतको जम्बु क्षेत्रमा पाकिस्तानले गरेको आक्रमण।

एजेन्सी : भारतले पाकिस्तान र पाकिस्तान प्रशासित काश्मीरमा मंगलबार बेलुका गरेको हवाई आक्रमणमा पाकिस्तानमा आतंकवादी सूचीमा रहेका मसूद अजहर परिवारका १० जनासहित २६ जनाको मृत्यु भएको छ। भारतीय सेनाले मंगलबार बेलुका पाकिस्तान र पाकिस्तान प्रशासित काश्मीरका 'नौ स्थान'मा लक्षित आक्रमण गरेको जनाएको छ।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीका अनुसार उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भए। यता भारत- पाकिस्तान नियन्त्रण रेखा नजिक भएको गोलाबारीमा भारततर्फ कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

'अपरेसन सिन्दूर'

भारतीय सेनाकी कर्नल सोफिया कुरैशीले बुधवार बिहान पत्रकार सम्मेलन गर्दै भारतीय सशस्त्र बलहरूले ६-७ मे २०२५ को राती १ बजेर ५ मिनेटदेखि डेढ बजेको बिचमा 'अपरेसन सिन्दूर' नामक सैन्य कारबाही सञ्चालन गरेको थियो।

भारतीय रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा अपरेसनमा पाकिस्तान र पाकिस्तान कब्जा गरेको काश्मीरका रहेका आतंकवादी संरचनाहरूलाई लक्षित गरिएको उल्लेख छ। पाकिस्तानले भारतका पाँच लडाकु विमानहरू खसालेको दाबी गरेको छ। तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

मसूद अजहरका आफन्तहरू मारिए

आतङ्कवादी संगठन जैश-ए-मोहम्मदले बुधवार जारी गरेको एक बयानमा भारतको हवाई आक्रमणमा संगठनका प्रमुख मसूद अजहरका परिवारका १० सदस्य र चार नजिकका सहयोगीहरूको मृत्यु भएको उल्लेख छ।

बयानमा मृतकहरूमा मसूद अजहरकी ठुली बहिनी र बहिनी ज्वाइँ, भान्जा, भान्जाकी पत्नी, भान्जी र परिवारका पाँच बालबालिकाहरू रहेको उल्लेख छ। साथै आक्रमणमा मसूद अजहरका तीन नजिकका सहयोगीहरू र तिनमध्ये एक सहयोगीकी आमाको मृत्यु भएको बताइएको छ।

जै-ए-मोहम्मदको बयानअनुसार पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमाथि गरिएको आक्रमणमा मसूद अजहरका आफन्तहरूको मृत्यु भएको हो।

वैशाख २४, २०८२ बुधबार २३:०७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।