बाल संगठनको जग्गा हिनामिनामा १७ प्रतिवादी, ६० करोड बिगोसहित दर्ता भयो ठगी मुद्दा

बाल संगठनको जग्गा हिनामिनामा १७ प्रतिवादी, ६० करोड बिगोसहित दर्ता भयो ठगी मुद्दा

काठमाडौँ : नेपाल बाल संगठनको सम्पत्ति दुरुपयोग गरेर ६० करोड ठगी गरेको अभियोगमा रितासिंह वैद्यसहित १७ जना विरुद्ध अभियोग पत्र दायर भएको छ। बुधवार जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

अभियोग पत्रमा बाल सङ्गठनका विभिन्न पदमा रहेका पदाधिकारीसहित बृहस्पति विद्या सदनका पदाधिकारीहरूलाई प्रतिवादी बनाइएको छ। अभियोग पत्रमा उनीहरूले बाल संगठनको नाममा रहेको एक सय २ रोपनी जग्गामध्ये २९ रोपनी जग्गा बृहस्पति विद्यालयको नाममा प्रयोग गर्न भाडामा दिएको, भाडामा दिइएको जग्गा बैंकमा राखेर ३० करोड ऋण निकालेको र सोही जग्गामध्येबाट राय स्कुललाई महँगो दरमा भाडामा दिएर ठगी गरेको उल्लेख छ।

अनाथ बालबालिकाको हितका लागि दिइएको जग्गा प्रतिस्पर्धा नै नगराई ७३ वर्षका लागि कौडीको भाउमा भाडामा दिएर दुरुपयोग गरेको अभियोग पत्रमा उल्लेख छ।

अभियोग पत्रमा संगठनको तत्कालीन अध्यक्ष रिता सिंह , तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ सहित गणेश भक्त श्रेष्ठ ,कृष्ण शङ्कर शाह, श्यामकुमार आले, सुभाष कुमार पोखरेल, प्रचण्ड राज प्रधान, रामकाजी गुरुङ, योगेन्द्र बहादुर शाही र दीपकदास श्रेष्ठलाई प्रतिवादी बनाइएको छ।

बृहस्पति विद्यालय व्यवस्थापन प्रालिका तत्कालीन सञ्चालक प्रवीणराज जोशी,मुरारी निधी तिवारी, पुरुषोत्तमराम जोशी, श्रद्धा सघाई ,अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कृतिप्रसाद पाण्डेयलाई प्रतिवादी बनाइएको छ।

वैशाख २४, २०८२ बुधबार २०:५८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।