पाँच प्रतिशत कमिसन मागेको गुनासोपछि धितोपत्र बोर्डमा अख्तियारको छापा, ८९ फाइल नियन्त्रणमा

काठमाडौं : आइपिओ निष्कासनको अनुमति दिन धितोपत्र बोर्डका अध्यक्षका एजेन्टहरूले कमिसन मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार बोर्डको कार्यालयमा छापा मारेको छ।
आइपिओ निष्कासनका लागि बोर्डमा ८९ कम्पनीको प्रस्ताव विचाराधीन रहेको छ। ती प्रस्ताव स्वीकृत गर्न बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाम लिँदै केही व्यक्तिहरूले ऊर्जा उत्पाकहरुसँग पाँच प्रतिशतसम्म कमिसन मागेको उजुरीको आधारमा अख्तियारको टोलीले बुधवार छापा मारेर सबै फाइल नियन्त्रणमा लिएको हो।
जलविद्युत् प्रवर्द्धकले प्रत्यक्ष भेटेर, फोन, एसएमएस र इमेल मार्फत कमिसन माग्ने गरेको गुनासो गरेका थिए। चाँडै आईपीओको स्वीकृत पाउने हो भने ५ प्रतिशतसम्म कमिसन दिनु नत्र स्वीकृत गर्न ढिला हुँदा ब्याज बढ्छ भनेको गुनासो गरेपछि अख्तियार छापा मार्न पुगेको हो।
बुधवारै प्रतिनिधि सभामा समेत धितोपत्र बोर्डले आइपिओ निष्कासनका कम्पनीहरूसँग कमिसन माग्ने गरेको विषय उठेको थियो।
बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त हुँदा नै निश्चित व्यापारिक घरानाको स्वार्थमा नियुक्त भएको भन्दै विवाद भएको थियो।
वैशाख २४, २०८२ बुधबार २०:२१:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।