नेपालमा भारत-पाकिस्तानको तनावको प्रभाव : भारतमा आतंकवादी हमला गर्न नेपालको भूमि प्रयोग हुने जोखिम, सीमा र विमानस्थलमा उच्च सुरक्षा सतर्कता

काठमाडौँ : आतंकवादी आक्रमणको बदलामा भारतले पाकिस्तानमा ‘अपरेसन सिन्दूर’ नामको सैन्य कारबाही सुरु गरेसँगै नेपालमा समेत सुरक्षा सतर्कता बढाइएको छ। भारतले पाकिस्तानमा रहेको आतंकवादी अखडाहरूमा मंगलबार बेलुका आक्रमण गरेसँगै दुवै देश युद्धको अवस्थामा पुगेका छन्।
भारतले नेपाल र पाकिस्तानसँग सीमा जोडिएको उत्तर प्रदेशसहित पन्जाब र राजस्थानमा ‘रेड अलर्ट’ जारी गरिएको छ। भारतले संवेदनशील क्षेत्र घोषणा गरेका क्षेत्रमा आपत्कालिन अभ्यास र ब्ल्याकआउटको अभ्यास सुरु गरिसकेको छ।
भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपालमा बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सुरक्षा परिषद्को बैठक बसेको थियो। भारत-पाकिस्तानबीचको सैनिक तहमै सुरु भएको तनावसँगै नेपालमा पर्न सक्ने प्रभाव र भारतविरुद्ध नेपालको सीमाको हुन सक्ने दुरुपयोगको विषयमा बैठक केन्द्रित थियो।
बैठकले हवाई र सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउनु पर्ने र आफ्नो भूमि कुनै पनि देश विरुद्ध प्रयोग हुन नसकोस् भनेर त्यसमा सतर्कता अपनाउनुपर्ने निष्कर्ष निकालेको थियो। उच्च स्रोतका अनुसार पाकिस्तानमा भएको आक्रमणको बदलामा भारतमा आतंकवादी आक्रमणका लागि नेपालको भूमिको प्रयोग हुनसक्ने जोखिम रहेको भन्दै नेपाल-भारत सीमामा उच्च सुरक्षा सतर्कता अपनाउनुपर्ने निष्कर्ष निकालिएको छ।
भारत-पाकिस्तानबीच हवाई आक्रमण बढेको अवस्थामा नेपालमा समेत प्रभाव पर्न सक्ने भन्दै जोखिमको मूल्याङ्कन गरेर त्यही अनुसारको तयारी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका थिए।
सुरक्षा परिषद्को बैठक लगत्तै नेपाली सेनालाई समेत सीमामा उच्च सतर्कतासहित परिचालन गरिने, सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संख्या बढाउने, सुरक्षा चेकजाँचमा कडाइ गर्ने लगायतका निर्णय भएको बैठकस्रोतले उकेरालाई जानकारी दिए।
सुरक्षा परिषद्को बैठक बसेपछि गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो।
बैठक सीमा र हवाई क्षेत्रको दुरुपयोग हुनसक्ने सम्भावनाबारे छलफल केन्द्रित थियो। यसका लागि नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए।
भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित घटनाक्रम र त्यसले नेपाललाई पार्न सक्ने प्रभाव, सम्भावित चुनौती र भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा बैठकमा छलफल भएको उनले बताए।
‘आन्तरिक सुरक्षातर्फ गर्नुपर्ने थप तयारी, समन्वय र सूचना आदानप्रदानलगायतका विषयमा कुराकानी भएको छ”, प्रवक्ता तिवारीले भने, “सीमा नाकादेखि विमानस्थलसम्मको सुरक्षा व्यवस्थामा विशेष निगरानीसहित चुस्त दुरुस्त बनाउने, राष्ट्रिय तथा आन्तरिक सुरक्षा व्यवस्था सुनिश्चित तुल्याउने, सम्भावित चुनौतीको सामना गर्नेलगायत समसामयिक विषयमा बैठकमा छलफल भएको छ।’
वैशाख २४, २०८२ बुधबार १९:३३:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।