नेप्से उच्च अंकले बढ्यो : कारोबार रकम १० अर्ब

नेप्से उच्च अंकले बढ्यो : कारोबार रकम १० अर्ब

काठमाडौं : बुधवार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा बन्द भएको छ। यसअघि गत फागुन १८ गते नेप्से ७५ अंकले बढेको थियो। त्यसपछि पहिलो पटक यति ठूलो अंकले बढेको हो।

मंगलबार आठ अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधवार १० अर्ब ५१ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ७७ करोड रुपैयाँले बढेको हो। आज ३०८ वटा धितोपत्रको दुई करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर किनबेच भएको छ।

जलविद्युत क्षेत्रको बाहुल्य
कुल कारोबारमध्ये जलविद्युत कम्पनीहरूको मात्रै सात अर्बको सेयर किनबेच भएको छ। सानिमा माई हाइड्रोपावरको सर्वाधिक ५९ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ६३० रुपैयाँ ५० पैसामा कारोबार भएको हो, जुन अघिल्लो दिनको तुलनामा २.६५ प्रतिशत बढी हो।

सर्वाधिक सेयर खरिद-बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३८९ रुपैयाँमा ५४ करोड ७९ लाख बराबरको सेयर कारोबार भएको छ।
बुधवार पाँच कम्पनीको मूल्य सर्किट लेभलमा बढेको छ:

  • नेपाल माइक्रो इन्स्योरेन्स: १० प्रतिशत
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स: १० प्रतिशत
  • बुटवल पावर कम्पनी: ९.९९ प्रतिशत
  • ओम मेगाश्री फर्मास्युटिकल्स: ९.९९ प्रतिशत
  • पिपुल्स हाइड्रोपावर: ९.९८ प्रतिशत

घट्ने कम्पनीहरू

बुधवार न्यादी हाइड्रोपावरको मूल्य सर्वाधिक ४.४३ प्रतिशतले घटेर प्रतिकित्ता ४८५ रुपैयाँ २० पैसामा झरेको छ। यस्तै, लक्ष्मी भ्यालु फन्डको मूल्य ३.०२ प्रतिशतले घटेर प्रति इकाई मूल्य ९ रुपैयाँ ६५ पैसा कायम भएको छ।

बुधवार २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ वटाको घटेको छ। यस्तै एउटा कम्पनीको मूल्य स्थिर रहेको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढेको छ। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ५.५५ प्रतिशतले बढेको छ।

वैशाख २४, २०८२ बुधबार १७:४५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।