भारतको सात राज्यका ११ विमानस्थलमा उडान बन्द

एजेन्सी : पाकिस्तानमा हवाई आक्रमणपछि भारतले सात राज्यका ११ विमानस्थलमा उडान बन्द गरेको छ।
श्रीनगर, जम्मू, लेह, चंडीगढ़, बिकानेर, जोधपुर, राजकोट, धर्मशाला, अमृतसर, भुज र जामनगरमा उडानहरू रोकिएका छन्। यी विमानस्थलहरू पाकिस्तान सीमासँग जोडिएका छन्।
जम्मू कश्मीर, पञ्जाब र राजस्थानका धेरै जिल्लाहरूमा विद्यालयहरू बन्द गरिएका छन्। करतारपुर करिडोर पनि बन्द गरिएको छ। यहाँबाट सिख भक्तजनहरू पाकिस्तानको करतारपुर साहिबको दर्शन गर्न जाने गर्थे।
एयर इन्डियाले १० मे बिहान ५:२९ बजेसम्म जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चंडीगढ़ र राजकोट गरी नौ शहरका सबै उडानहरू रद्द गरेको छ।
इन्डिगोले १० मे विहान ५:२९ बजे बजेसम्म जम्मू, श्रीनगर, अमृतसर, लेह, चंडीगढ़, धर्मशाला, बिकानेर, जोधपुर, ग्वालियर, किशनगढ र राजकोट गरी ११ शहरहरूका सबै उडानहरू रद्द गरेको छ।
इन्डिगोका १६५ घरेलु उडानहरू रद्द गरिएका छन्। एयरलाइन्सले हरेक दिन लगभग २२०० उडानहरू सञ्चालन गर्दछ। दिल्ली विमानस्थलमा विभिन्न एयरलाइन्सका २० उडानहरू रद्द गरिएका छन्।
यस्तै, स्पाइसजेटले मे ७ सम्म लेह, श्रीनगर, जम्मू, कांगडा (हिमाचल), कांडला (गुजरात) र अमृतसर गरी छ शहरहरूमा सबै उडानहरू रद्द गरेको छ।
अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमलाको १५ दिनपछि भारतले मंगलबार राति अबेर पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर (पीओके)मा सैन्य कारबाही गर्यो।
यसका एक सयभन्दा बढी आतंककारीहरू मारिएको भारतीय दाबी छ भने पाकिस्तानले भने २६ सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेको छ।
यता सीमापारबाट भएको गोलीबारीमा भारततर्फ पनि १० जना सर्वसाधारणको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ।
सम्बन्धित समाचार:
वैशाख २४, २०८२ बुधबार १४:२८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।