जम्मू-कश्मीरमा भएको गोलीबारीमा मृत्यु हुनेको भारतीयको संख्या १० पुग्यो

काठमाडौं : भारत र पाकिस्तानबीचको बढ्दो सैन्य तनावका बीच नियन्त्रण रेखा (एलओसी) नजिक भएका आक्रमणहरूमा सर्वसाधारणको मृत्यु संख्या बढ्दै गएको छ।
एक शीर्ष भारतीय सैन्य अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार पाकिस्तानी गोलीबारीमा परी भारततर्फ कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
यी सबै घटना भारत प्रशासित जम्मु-कश्मीरको पुन्छ जिल्लामा भएको जनाइएको छ। अधिकारीका अनुसार गोलीबारी नियन्त्रण रेखाको आसपासका बस्तीहरूमा केन्द्रित थियो।
यता, पाकिस्तानले भारतीय हवाई आक्रमणमा परी आफ्नो भूमिमा २६ सर्वसाधारणको मृत्यु र ४६ जना घाइते भएको जनाएको छ।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीका अनुसार भारतीय हवाई आक्रमण र लगातारको तोपखानाबाट पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा मानवीय क्षति भएको हो।
यद्यपि भारतले आफ्ना हमलालाई ‘केन्द्रित, मापन गरिएको र गैर-उत्तेजक’ बताउँदै कुनै पनि नागरिक वा सैन्य प्रतिष्ठानलाई लक्षित नगरेको दाबी गरेको छ। भारतीय सेनाले हमलामा आतङ्कवादी पूर्वाधार मात्र निशाना बनाइएको बताएको छ।
सम्बन्धित समाचार:
वैशाख २४, २०८२ बुधबार १३:५३:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।