भारत-पाकिस्तानबीचको तनावमा नेपालका सांसदहरूको चासो, कसले के भने?

भारत-पाकिस्तानबीचको तनावमा नेपालका सांसदहरूको चासो, कसले के भने?

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीच बढ्दै गइरहेको सैन्य तनाव र त्यसले नेपालमा पार्न सक्ने सम्भावित असरप्रति चासो व्यक्त गरेका छन्।

उनीहरूले खुला सिमाना, भूराजनीतिक संवेदनशीलता र द्वन्द्वका सम्भावित प्रतिकूल प्रभावप्रति सचेत हुँदै सरकारले समयमै आवश्यक कूटनीतिक र सुरक्षात्मक तयारी गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भारत-पाकिस्तानबीचको पछिल्लो सैन्य कारबाहीलाई ‘युद्धको प्रारम्भिक चरण’ भन्दै नेपालमा यसका अल्पकालीन र दीर्घकालीन असर पर्ने सम्भावना औँल्याएका छन्।

‘दक्षिण एसियाली क्षेत्रमै द्वन्द्व चर्किँदै गएको अवस्थामा राष्ट्रिय राजनीतिक दलहरूबीच एकता आवश्यक छ’, उनले भने।

संविधान संशोधन, संघीयताको सुदृढीकरण, संस्कृतिको संरक्षण र प्रवर्द्धनजस्ता विषयमा न्यूनतम सहमति कायम गरी आम जनताको मनोबल उच्च बनाउनुपर्नेमा उनले जोड दिए।

बैठकमा नेपाली जनता समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लले नेपाल सधैं असंलग्न राष्ट्रको रूपमा रहँदै आएको उल्लेख गर्दै अहिलेको परिस्थितिमा आतंकवादबारे स्पष्ट र सन्तुलित कूटनीतिक अडान आवश्यक रहेको धारणा व्यक्त गरे।

उनले भारतको पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गर्दै यस्ता घटनाहरूको नेपालले कूटनीतिक रूपमा विरोध जनाउनुपर्ने बताए।

यस्तै पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका सांसद एनपी साउदले हालै पाकिस्तानका उच्च सैनिक अधिकारीहरूको नेपाल भ्रमणप्रति आपत्ति जनाउँदै यो संवेदनशील घडीमा यस्ता भ्रमणहरू उपयुक्त नहुने टिप्पणी गरे।

‘भ्रमण पूर्वनिर्धारित भए पनि छिमेकमा द्वन्द्व चर्किरहेका बेला कूटनीतिक चातुर्यका साथ भ्रमण स्थगन गर्नु उपयुक्त हुनेथियो’, उनले भने।

सांसद साउदले वर्तमान परिस्थितिमा नेपालले कूटनीतिक सन्तुलन कायम राख्दै राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।

१३ दिनअघि पहलगाममा भएको बन्दुकधारीहरूको आक्रमणमा एक नेपालीसहित २६ जनाको हत्याको बदलास्वरूप भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित काश्मीरमा आज राति आक्रमण गरेको हो।

भारतको आक्रमणपछि पाकिस्तानले यसको उचित समय र स्थानमा जवाफ दिने चेतानवी दिएको छ।

आक्रमणपछि अझै पनि कश्मीर क्षेत्रमा तनावग्रस्त छ भने पाकिस्तानतर्फ २६ जनाको मृत्यु र ४६ जना घाइते भएका छन् भने भारततर्फ तीन जनाको ज्यान गएको छ।

वैशाख २४, २०८२ बुधबार १३:४२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।