भारतीय आक्रमणमा जलविद्युत् आयोजनालाई निशाना बनाएको पाकिस्तानको दाबी

एजेन्सी : पाकिस्तानको सरकारी टेलिभिजन पीटीभीले ‘अपरेशन सिन्दूर’ अन्तर्गतको पछिल्लो हवाई आक्रमणमा भारतले पाकिस्तानको जलस्रोतहरूलाई निशाना बनाएको दाबी गरेको छ।
भारतीय सेनाले नीलम-झेलम जलविद्युत आयोजना अन्तर्गतको नीलम नदीस्थित इन्टेक संरचनालाई राति २ बजे तोप गोलाबारीमार्फत क्षति पुर्याएको उसको रिपोर्टमा उल्लेख रहेको पाकिस्तानी सञ्चारमाध्यम डनन्यूजले जनाएको छ।
पीटीभीले सुरक्षा स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘नौसिरी बाँध नजिकको इन्टेक संरचना लक्षित गरिँदा डीस्यान्डर युनिटमा रहेका गेटहरू र त्यहाँ खटिएको एम्बुलेन्समा क्षति पुगेको छ।’
पाकिस्तानी सञ्चारमाध्यमले यस आक्रमणलाई ‘कायरतापूर्ण कार्य’ भन्दै निन्दा गरेका छन्। सुरक्षा स्रोतहरूको भनाइ उद्धृत गर्दै पीटीभीले जलस्रोतजस्ता संवेदनशील संरचनालाई निशाना बनाउनु अन्तर्राष्ट्रिय मान्यताको स्पष्ट उल्लङ्घन भएको दाबी गरेको छ।
पाकिस्तानले यसअघि भारतले गरेको हवाई कारबाहीमा २६ जनाको ज्यान गएको र ४६ भन्दा बढी घाइते भएको जनाएको थियो। भारतीय पक्षले भने आफ्नो कारबाहीलाई ‘संयमित र आतंकवादी पूर्वाधार लक्षित’ बताउँदै नागरिक संरचनामा आक्रमण नगरेको दाबी गर्दै आएको छ।
वैशाख २४, २०८२ बुधबार १२:५२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।