पाकिस्तान र पिओकेमा २५ मिनेट भारतीय सेनाको अपरेशन, पाकिस्तानी नागरिकको मृत्यु नभएको दाबी

पाकिस्तान र पिओकेमा २५ मिनेट भारतीय सेनाको अपरेशन, पाकिस्तानी नागरिकको मृत्यु नभएको दाबी

एजेन्सी : बुधबार स्थानीय समय अनुसार विहान साढे १० बजे पाकिस्तानमा गरिएको हवाई हमलाको बारेमा तीन जना अधिकारीहरू मिडियालाई जानकारी दिन आए।

प्रेस ब्रिफमा सबैभन्दा पहिले हवाई आक्रमणको दुई मिनेटको भिडियो देखाइएको थियो। यसमा आतंककारी लुकेका ठाउँहरूमा भारतीय सेनाको कारबाही गरेको भारतको दाबी छ।

देशको इतिहासमा पहिलो पटक वायुसेना र सेनाका एक मुस्लिम र एक हिन्दू महिला अधिकारी सेनाको पत्रकार सम्मेलनमा उपस्थित थिए। सेनाका कर्णेल सोफिया कुरेशी र वायुसेनाका विङ कमाण्डर व्योमिका सिंहले अपरेशनको बारेमा जानकारी दिए।

कर्नल सोफिया र विङ कमाण्डर व्योमिकाले पाकिस्तान अधिनस्थ कश्मीर (POK) मा गरिएको कारबाहीको पूर्ण विवरण दिए। उनीहरूले पाकिस्तानी सेना र आम जनतालाई निशाना नबनाएको दाबी गरे। अपरेशन सिन्दूर बिहान १ बजेर पाँच मिनेटदेखि १ बजेर ३० मिनेटसम्म २५ मिनेटसम्म भएको थियो।

प्रेस ब्रिफमा विदेश सचिव विक्रम मिश्रले पहलगाम आक्रमणमा मानिसहरूलाई उनीहरूको परिवारको अगाडि कायरतापूर्ण तरिकाले मारिएको भन्दै त्यसको निन्दा गरे।

उनले भने, ‘मानिसहरूलाई टाउकोमा गोली हानियो। बाँचेकाहरूलाई यस आक्रमणको सन्देश फैलाउन भनियो। यो आक्रमण जम्मू कश्मीरको राम्रो अवस्थालाई असर गर्ने उद्देश्यले गरिएको थियो। गत वर्ष २.२५ करोडभन्दा बढी पर्यटक कश्मीर आएका थिए। आक्रमणको उद्देश्य कश्मीरको विकास र प्रगतिलाई हानि पुर्याएर पछाडि राख्नु थियो।’

मिश्रले आफूहरूलाई पाकिस्तानमा आतंकवादी अड्डाहरू भएको जानकारी प्राप्त भएको बताउँदै उनले थप आक्रमण गर्नसक्नेबारे जानकार रहेकाले उनीहरूलाई रोक्न आवश्यक रहेको बताए।

उनले थपे, ‘हामीले उनीहरूलाई रोक्ने अधिकार प्रयोग गरेका छौं। यो कार्य मापन गरिएको र जिम्मेवार छ। आतंकवादको पूर्वाधारलाई उन्मूलन गर्ने र आतंकवादीहरूलाई असक्षम पार्ने कुरामा केन्द्रित छ।’

पछिल्लो १० वर्षमा भारतमा ६०० सैनिक र ३५० नागरिक सीमापार आतंकवादबाट शहीद भएको बताउँदै मिश्रले यी क्रूर हिंसात्मक कार्यहरूमा ८०० भन्दा बढी मानिसहरू घाइते भएको बताए।

यसैबीच, प्रेस ब्रिफमा कर्नल सोफिया कुरेशी र विङ कमाण्डर व्योमिका सिंहले अपरेशनको बारेमा जानकारी दिए। उनीहरूले यो अपरेशन पहलगाममा निर्ममतापूर्वक मारिएका निर्दोष पर्यटकहरूका लागि गरिएको बताएका छन्।

उनीहरूले पाकिस्तानमा विगत ३ दशकदेखि आतंकवादीहरू सिर्जना भइरहेको आफूहरूले पाकिस्तान र पीओकेमा गरी जम्मा ९ वटा निशानाहरू छनोट गरेको र तिनीहरूलाई नष्ट गरेको बताए। ती स्थानहरूमा लन्चप्याड र तालिम केन्द्रहरू रहेको उनीहरूको दाबी थियो।

कुरैशीले बताइन्, ‘हामीले भरपर्दो जानकारी र बुद्धिमत्ताको आधारमा यी लक्ष्यहरू छनौट गर्यौं। अपरेशनको क्रममा हामीले निर्दोष मानिसहरू र नागरिक पूर्वाधारलाई हानि नपुगोस् भन्ने कुरा सुनिश्चित गर्यौं।’

पीओकेमा पहिलो सवाई नाला मुजफ्फराबादमा थियो, यो लश्करको तालिम केन्द्र रहेको भारतको दाबी छ। सोनमर्ग, गुलमर्ग र पहलगाम आक्रमणका आतंककारीहरूले यहाँ तालिम लिएकोफ कुरैशीले दाबी गरिन्।

मुजफ्फराबादको सय्यदना बिलाल क्याम्पमा आतंककारीहरूलाई हतियार, विस्फोटक पदार्थ र जंगलमा बाँच्नको लागि तालिम दिइने गरेकोमा गुरपुरको कोटलीमा भएको लश्करको शिविरमा २०२३ मा पुंछमा तीर्थयात्रीहरूमाथि आक्रमणको लागि आतंककारीहरूलाई तालिम दिइएको भारतको भनाइ छ।

कुरैशीले प्रेस ब्रिफमा बताइन्, ‘पाकिस्तानमा हाम्रो पहिलो लक्ष्य सियालकोटको सरजल क्याम्प थियो। मार्च २०२५ मा प्रहरी कर्मचारीहरूको हत्या गर्ने आतंककारीहरूलाई यहीँ तालिम दिइएको थियो। सियालकोटको महमूना जया क्याम्पमा हिजबुलको धेरै ठूलो क्याम्प थियो। यो कठुआमा आतंकवादको नियन्त्रण केन्द्र थियो। पठानकोट आक्रमणको योजना यहीँ बनाइएको थियो। मरकड तैबा मुरिदकेमा रहेको आतंकवादी शिविर हो। अजमल कसाब र डेभिड कोलम्यान हेडलीलाई यहाँ तालिम दिइएको थियो।’

उनले मरकज सुभानल्लाह भवलपुरमा जैशको मुख्यालय भएको बताउँदै त्यहाँ आतंककारीहरूलाई भर्ती र तालिम दिइन दाबी गरिन्। जैशका वरिष्ठ अधिकारीहरू त्यहाँ आउने गरेको उनको भनाइ छ। सैन्य कारबाहीमा आवासीय क्षेत्रहरूलाई लक्षित नगरेको दाबी गर्दै उनले कुनै पनि नागरिक हताहत भएको रिपोर्ट नभएको समेत बताइन्।

सम्बन्धित समाचार:

वैशाख २४, २०८२ बुधबार ११:५४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।