आतंकवादी पूर्वाधारहरूमा गरिएको सैन्य कारबाही ‘गैर-उत्तेजक र संयमित’ थियो : भारत

आतंकवादी पूर्वाधारहरूमा गरिएको सैन्य कारबाही ‘गैर-उत्तेजक र संयमित’ थियो : भारत

एजेन्सी : भारतले पाकिस्तान प्रशासित कश्मीर (पिओके) र पाकिस्तानभित्र रहेका ‘आतंकवादी पूर्वाधार’हरूमा केन्द्रित प्रहार गरेको दाबी गर्दै उक्त कारबाहीलाई ‘संयमित, सटीक र गैर-उत्तेजक’ भएको बताएका छन्।

प्रेस ब्रिफिङमार्फत बोल्दै  विदेश सचिव विक्रम मिश्रले भारतको पछिल्लो सैन्य कदम सीमापारबाट हुने आक्रमणको जवाफ र प्रतिकार गर्ने सार्वभौमिक अधिकार अन्तर्गत भएको बताएका छन्।

उनले भनेका छन्, ‘भारतको कारबाही केन्द्रित, मापन गरिएको र गैर-उत्तेजक रहेको छ।’

भारतले ‘अपरेशन सिन्दूर’ अन्तर्गत गरेको यो कारबाही अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिक्रिया हो। उक्त आक्रमणमा २५ जना भारतीय र एक नेपाली नागरिकको मृत्यु भएको थियो।

विदेश सचिव मिश्रले पहलगाम आक्रमणलाई ‘चरम बर्बरताको उदाहरण’ भन्दै ‘यस आक्रमणको उद्देश्य जम्मु कश्मीरको सामान्य अवस्थालाई अस्थिर बनाउने, विकासको गति अवरुद्ध पार्ने र सामाजिक सौहार्द बिगार्ने’ रहेको बताए।

उनले पाकिस्तानमाथि आतंकवादविरुद्ध ठोस कदम चाल्न असफल भएको आरोप लगाउँदै संयुक्त राष्ट्रसंघले पनि पहलगाम आक्रमणप्रति चिन्ता व्यक्त गर्दै वक्तव्य जारी गरेको स्मरण गराए।

वैशाख २४, २०८२ बुधबार ११:३२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।