मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना : नौ जना घाइते, छ जनाको अवस्था गम्भीर

मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना : नौ जना घाइते, छ जनाको अवस्था गम्भीर

भीमफेदी : मकवानपुरको राक्सिराङ गाउँपालिका-९ अठारेस्थित भित्री सडकखण्डमा सोमबार बिहान भएको सवारी दुर्घटनामा नौ जना घाइते भएका छन्। जसमा छ जनाको अवस्था गम्भीर रहेको छ।

खैराङबाट मनहरीतर्फ जाँदै गरेको बा १५ च १३३३ नम्बरको यात्रुवाहक सवारीसाधन अनियन्त्रित भई दुर्घटना हुँदा राक्सिराङ-९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान, उनकी पत्नी ७० वर्षीया फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।

त्यसैगरी, ५० वर्षीय सूर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र २८ वर्षीय सुजन तामाङ सामान्य घाइते भएका छन्। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कान्द्राङबाट प्रहरी सहायक निरीक्षक भरतकुमार खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो।

घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

वैशाख २४, २०८२ बुधबार ११:०२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।