भारत-पाकिस्तान तनाव उत्कर्षमा, अहिलेसम्म के-के भए?

भारत-पाकिस्तान तनाव उत्कर्षमा, अहिलेसम्म के-के भए?

काठमाडौं : भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा गरेको हवाई आक्रमणपछि पछिल्ला केही घण्टामा स्थिति तीव्र गतिमा परिवर्तन भइरहेको छ। हामीले यहाँ अहिलेसम्मका प्रमुख घटनाक्रमको संक्षिप्त विवरण प्रस्तुत गरेका छौंँ।

भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानहरूमा लक्षित, मापदण्डअनुसार र तनाव नबढाउने शैलीमा हवाई आक्रमण गरेको दाबी गरेको छ।

पाकिस्तानले तीन स्थानमा आक्रमण भएको स्वीकार्दै उक्त कारबाहीलाई ‘कायरतापूर्ण आक्रमण’ भनेको छ। विदेश मन्त्री मोहम्मद इसहाक डारका अनुसार, आक्रमणमा ८ जना सर्वसाधारणको मृत्यु भएको र ३५ जना घाइते भएका छन्।

पाकिस्तानले यो आक्रमणको उचित समय र स्थानमा जवाफ दिने चेतावनी दिएको छ।

उता, समाचार एजेन्सी रोयटर्स र एएफपीले भारतीय सेनाका प्रवक्तालाई उद्धृत गर्दै भनेका छन् कि पाकिस्तान प्रशासित कश्मीरबाट भएको सैन्य कारबाहीमा ३ जना भारतीय नागरिकको मृत्यु भएको छ।

पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबादका स्थानीय बासिन्दाहरूले रातको समयमा ठूला विस्फोट भएको बताएका छन्। केहीले पहिलो विस्फोट हुँदा आफू निदइरहेको बताउँदै त्यसपछि थप तीन विस्फोट भएको बताएका छन्।

उता भारतीय प्रशासित कश्मीरका बासिन्दाहरूले पनि नियन्त्रण रेखा (एलओसी) नजिक विस्फोटको आवाज सुनेको बताएका छन्।

गत महिना कश्मीरमा पहलगाममा एक नेपालीसहित २६  पर्यटकहरूको मृत्यु हुनेगरी भएको घातक आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्ध थप तिक्ततापूर्ण भएको हो।

भारतीय प्रहरीले सो आक्रमणमा संलग्न चार जना आक्रमणकारीमध्ये दुई जना पाकिस्तानी नागरिक रहेको दाबी गरेको थियो।

उक्त आक्रमणपछि दुवै देशले सीमामा आवागमन बन्द गर्ने, नदीसम्बन्धी सन्धि स्थगन गर्नेजस्ता विभिन्न प्रतिशोधात्मक कदम चालेका थिए भने सीमामा साना हतियारबाट गोली हानाहान पनि भइरहेका थिए।

सम्बन्धित समाचार:

वैशाख २४, २०८२ बुधबार १०:०१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।