‘पहिलो विस्फोट हुँदा म निदाइरहेको घर हल्लायो, त्यसपछि अरु तीनवटा मिसाइल खस्यो’

‘पहिलो विस्फोट हुँदा म निदाइरहेको घर हल्लायो, त्यसपछि अरु तीनवटा मिसाइल खस्यो’

एजेन्सी : पाकिस्तानको पञ्जाब प्रान्तस्थित मुरिद्केमा रहेका एक शैक्षिक परिसरमा भारतले प्रहार गरेका चारवटा मिसाइल खसेको एक स्थानीय बासिन्दाले बताएका छन्।

घटनामा स्कूल, कलेज, अस्पताल र मस्जिदसहितको संरचना आंशिक रूपमा क्षतिग्रस्त भएको छ।

बीबीसीसँग कुरा गर्दै स्थानीय बासिन्दा मोहम्मद युनुस शाहले भने, ‘तीनवटा मिसाइल एकपछि अर्को गरी खसेका थिए, चौथो मिसाइल पाँचदेखि सात मिनेटपछि खस्यो।’

उनका अनुसार, उक्त परिसरमा विद्यालय, कलेज, छात्रावास, स्वास्थ्य केन्द्र र एक मस्जिदका साथै आवास क्षेत्र पनि रहेको छ, जहाँ केही परिवारहरू बसोबास गर्छन्।

घटनापछि उद्धारकर्मी, दमकल र प्रहरी टोली घटनास्थलमा पुगेको र क्षेत्र त्रास र अन्योलले भरिएको शाहले बताए।

‘सबै मानिसहरू सुरक्षित स्थानतर्फ सारिएका छन्’, उनले भने।

मस्जिद नजिकै विस्फोट, स्थानीय घाइते
पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फराबादमा रहेको बिलाल मस्जिद नजिकै बसोबास गर्ने मोहम्मद वहीदले पनि आक्रमणको भयावह अनुभव बताएका छन्।

‘पहिलो विस्फोट हुँदा म निदाइरहेको थिएँ, त्यसले मेरो घर नै हल्लायो,’ उनले बीबीसीसँग भने, ‘जब म बाहिर निस्किएँ, छिमेकीहरू सडकमा भेला भइसकेका थिए। त्यसपछि थप तीनवटा मिसाइल खस्यो, जसले झनै ठूलो त्रासको माहोल भयो।’

वहीदका अनुसार दर्जनौँ मानिसहरू घाइते भएका छन्, जसमा महिलाहरू पनि छन्। उनीहरूलाई नजिकैको अस्पताल लगिएको छ।

‘हामीले दैनिक प्रार्थना गर्ने सामान्य मस्जिदलाई किन लक्षित गरियो भन्ने मलाई थाहा छैन,’ उनले थपे, ‘हामीले कहिल्यै त्यहाँ शंकास्पद गतिविधि देखेका थिएनौँ। अहिले मानिसहरू आफ्नो घर छोड्दै छन् र अनिश्चितताको वातावरण व्यापक छ।’

मस्जिद, विद्यालय र अस्पतालजस्ता संरचनामा क्षति पुगेको खबर सार्वजनिक भएपछि पाकिस्तान सरकारले यसलाई युद्ध अपराधसरहको व्यवहार भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ।

तीन भारतीय सर्वसाधारणको मृत्यु
भारतीय सेनाका प्रवक्ताले बीबीसीलाई भारत प्रशासित कश्मीरमा तीन जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेका छन्। 

२२ अप्रिलमा कश्मीरको पहलगाममा बन्दुकधारीहरूको आक्रमणमा परी एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको थियो। बन्दुकधारीहरूले पर्यटकहरूलाई उनीहरूको धर्म सोधेर गोली हानेका थिए।

त्यसको बदलास्वरूप बुधबार बिहान एक बजे भारतले ‘अप्रेसन सिन्दूर’ सञ्चालन गरी पाकिस्तानका सियालकोट, कोटली, बहावलपुर, र मुजफ्फराबादमा हवाई आक्रमण गर्यो।

पाकिस्तानले तत्काल जवाफी कारबाही गर्दै पाँच भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ।

सुरक्षा समिति बैठक बस्दै पाकिस्तान, पत्रकार सम्मेलन गर्दै भारत
घटनापछि पाकिस्तानका प्रधानमन्त्रीले तत्काल राष्ट्रिय सुरक्षा समितिको आकस्मिक बैठक डाकेका छन्। बैठकमा सम्भावित कूटनीतिक, सैन्य र मानविक प्रतिकृयाहरूबारे निर्णय हुने बताइएको छ।

यस्तै भारतले स्थानीय समयअनुसार विहान १० बजे पत्रकार सम्मेलन गर्दैछ। उक्त पत्रकार सम्मेलनमा भारततर्फ भएको क्षतिबारे जानकारी दिइने छ।

वैशाख २४, २०८२ बुधबार ०९:४२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।