देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं : हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराई र मध्य भागलगायत अधिकांश क्षेत्रमा मौसम सामान्यतः सफा रहनेछ।
कोशी र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी क्षेत्रहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको जनाइएको छ।
रातिको पूर्वानुमानअनुसार पनि देशका पहाडी भागहरूमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मौसम प्रायः सफा रहनेछ।
कोशी प्रदेशका साथै अन्य केही पहाडी जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का वा मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ। हिमाली भेगका एक–दुई स्थानमा रातिको समयमा पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्हरूले यस्तो अवस्थामा पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन्।
वैशाख २४, २०८२ बुधबार ०८:५०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।