भारतले सर्वसाधारण नागरिकलाई निशाना बनाएको पाकिस्तानको आरोप

भारतले सर्वसाधारण नागरिकलाई निशाना बनाएको पाकिस्तानको आरोप

एजेन्सी : कश्मीर क्षेत्रमा चुलिँदो सैन्य तनावबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतमाथि सर्वसाधारण नागरिक र धार्मिक स्थलहरूलाई निशाना बनाएको आरोप लगाएका छन्।

बीबीसी उर्दूसँगको कुराकानीमा आसिफले भारतको हवाई आक्रमण आतंकवादी लुक्ने स्थानहरू विरुद्ध लक्षित भएको दाबी ‘झूटो प्रचार’ मात्र भएको बताए।

‘उनीहरूले दाबी गरेका छन् कि आतंकवादी लुकेका ठाउँमा आक्रमण गरे, तर ती स्थानहरू नागरिक क्षेत्र हुन्- दुई मस्जिद ध्वस्त भएको छ भने महिला र बालबालिकाको मृत्यु भएको छ।’

रक्षामन्त्रीले अगाडि भने, ‘एक बच्चा शहीद भएको छ, एक महिला शहीद भएकी छिन्। मसँग अहिलेसम्म शहीदको विस्तृत सूची आइपुगेको छैन। तर भारले आक्रमण गरेका क्षेत्र सबै सर्वसाधारणको बस्ती थिए।’

रक्षामन्त्री आसिफले भारतले आतङ्कवादीको क्षेत्र भनेर प्रचार गरिरहँदा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र पर्यवेक्षकहरूलाई ‘आफैँ आएर हेर्न’ अपिल समेत गरेका छन्।

उनले भने, ‘यदि भारतको दाबी साँचो हो भने, ती स्थानमा आतंकवादी थिए कि सर्वसाधारण- यो सत्यतथ्यले पुष्टि गर्नेछ।’

यसअघि पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीलाई जानकारी दिँदै भारतीय आक्रमणमा दुई बालबालिकासहित ८ पाकिस्तानी नागरिकको मृत्यु भएको पुष्टि गरेका थिए।

तीन भारतीय नागरिकको पनि मृत्यु
समाचार एजेन्सीहरू रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै, पाकिस्तानी सेनाको गोलीबारीमा कश्मीर क्षेत्रमा तीन भारतीय नागरिकको मृत्यु भएको जानकारी दिएका छन्।

२२ अप्रिलमा कश्मीरको पहलगाममा बन्दुकधारीहरूको आक्रमणमा परी एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको थियो। बन्दुकधारीहरूले पर्यटकहरूलाई उनीहरूको धर्म सोधेर गोली हानेका थिए।

त्यसको बदलास्वरूप बुधबार बिहान एक बजे भारतले ‘अप्रेसन सिन्दूर’ सञ्चालन गरी पाकिस्तानका सियालकोट, कोटली, बहावलपुर, र मुजफ्फराबादमा हवाई आक्रमण गर्यो।

पाकिस्तानले तत्काल जवाफी कारबाही गर्दै पाँच भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ।

सुरक्षा समिति बैठक बस्दै पाकिस्तान, पत्रकार सम्मेलन गर्दै भारत
घटनापछि पाकिस्तानका प्रधानमन्त्रीले तत्काल राष्ट्रिय सुरक्षा समितिको आकस्मिक बैठक डाकेका छन्। बैठकमा सम्भावित कूटनीतिक, सैन्य र मानविक प्रतिकृयाहरूबारे निर्णय हुने बताइएको छ।

यस्तै भारतले स्थानीय समयअनुसार विहान १० बजे पत्रकार सम्मेलन गर्दैछ। उक्त पत्रकार सम्मेलनमा भारततर्फ भएको क्षतिबारे जानकारी दिइने छ।

वैशाख २४, २०८२ बुधबार ०८:३२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।