पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु

एजेन्सी : कश्मीर सीमाक्षेत्रमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ। समाचार एजेन्सीहरू रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै उक्त जानकारी दिएका हुन्।
सीमा नियन्त्रण रेखा (एलओसी) नजिक भारतीय बस्तीहरूमा लक्षित गोलीबारी गरिएको दाबी गरिएको छ। घटनामा घाइतेहरूको संख्या सार्वजनिक गरिएको छैन तर स्थानीय अधिकारीहरूका अनुसार, मृतकहरू सर्वसाधारण नागरिक थिए।
यस्तै पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँगको कुराकानीमा भारतीय आक्रमणमा दुई बालबालिकासहित आठ पाकिस्तानी नागरिकको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार, आक्रमण मस्जिद, आवासीय भवन र अन्य नागरिक संरचनालाई लक्षित गर्दै गरिएको थियो।
भारत प्रशासित कश्मीरको पहलगाममा भएको बन्दुकधारीहरूको आक्रमणमा २६ पर्यटकको मृत्यु भएपछि भारतले यसको आरोप पाकिस्तानलाई लगाउँदै आएको थियो।
त्यसको भारतले उचित जवाफ दिने आँकलन भइरहँदा बुधबार बिहान १ बजे भारतले पाकिस्तानमा ‘अप्रेसन सिन्दूर’ पश्चात् चर्किएको हो।
भारतले पाकिस्तानको सियालकोट, कोटली, बहावलपुर र मुजफ्फराबादलगायतका क्षेत्रमा एकसाथ हवाई आक्रमण गरेको थियो। त्यसको जवाफमा पाकिस्तानले आफ्नो वायुसेनाबाट प्रतिआक्रमण गर्दै पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ।
सैन्य प्रवक्ताका अनुसार, पहिलो विमान २:४५ बजे खसालिएको हो भने पाँचौं विमान बिहान ५ बजेपछि खसालिएको पुष्टि गरिएको हो। पाकिस्तानले भारतीय रफाल लडाकु विमान अवन्तिपोरा नजिकै खसेको बताएको छ।
कूटनीतिक प्रतिक्रिया र नागरिक उडानमा असर
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतीय आक्रमणको कडा विरोध जनाउँदै भनेका छन्, ‘पाकिस्तानले आफ्नो सुरक्षा र सार्वभौमिकताको रक्षाका लागि जवाफ दिन पूर्ण अधिकार राख्छ।’
यसबीच, पाकिस्तानले लाहोर र कराँचीसमेतका हवाई क्षेत्र बन्द गरेपछि कतार एयरवेज, एयर फ्रान्स, लुफ्थान्सा लगायतका अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले पाकिस्तानका लागि उडानहरू स्थगित गरेका छन्।
कतार एयरवेजले यात्रुहरूको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइरहेको जनाउँदै आफ्नो वेबसाइटमार्फत पछिल्लो जानकारी लिन आग्रह गरेको छ। यस्तै, एयर फ्रान्स र लुफ्थान्साले पनि अर्को सूचना नभएसम्म पाकिस्तानको हवाई मार्ग प्रयोग नगर्ने जनाएका छन्।
क्षेत्रीय स्थायित्वमा फेरि चुनौती
भारत-पाकिस्तानबीच यस्ता सीमावर्ती तनावहरू नया होइनन्। तर पछिल्लो घटनाले सन् २०१९ को बालाकोट हवाई आक्रमणपछि पहिलो पटक यति ठूलो स्तरमा सैन्य झडप चर्किएको देखिएको छ।
यो परिस्थितिमा अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गर्दै संयमता अपनाउन दुवै पक्षलाई आह्वान गरिरहेको छ।
वैशाख २४, २०८२ बुधबार ०८:०८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।