पाकिस्तानको हवाई क्षेत्र बन्द, कतार एयरवेजसहित अन्तर्राष्ट्रिय उडानहरू प्रभावित

पाकिस्तानको हवाई क्षेत्र बन्द, कतार एयरवेजसहित अन्तर्राष्ट्रिय उडानहरू प्रभावित

एजेन्सी : पाकिस्तानले लाहोर, कराँचीलगायत प्रमुख शहर समेट्ने आफ्नो हवाई क्षेत्र बन्द गरेपछि कतार एयरवेजसहित विभिन्न अन्तर्राष्ट्रिय विमान सेवा प्रदायकले पाकिस्तानका लागि उडानहरू अस्थायी रूपमा स्थगित गरेका छन्।

कतार एयरवेजले सामाजिक सञ्जालमार्फत यात्रुहरूलाई जानकारी दिँदै परिस्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ।

एयरलाइन्सले यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकता दिने उल्लेख गर्दै, प्रभावित उडानहरूको पछिल्लो जानकारीका लागि आफ्नै आधिकारिक वेबसाइट हेर्न अनुरोध गरेको छ।

यस्तै, एयर फ्रान्सले सीएनएनलाई दिएको विज्ञप्तिमा अर्को सूचना नभएसम्म पाकिस्तानमाथिको हवाई मार्ग प्रयोग नगर्ने र केही गन्तव्यहरूको उडान योजना परिमार्जन गरिरहेको जनाएको छ।

जर्मन एयरलाइन्स लुफ्थान्साले पनि रोयटर्सलाई ‘अर्को सूचना नभएसम्म पाकिस्तानको हवाई क्षेत्रबाट बच्ने’ बताएको छ।

गएराति भारतले पाकिस्तान लक्षित सैन्य आक्रमण गरेपछि पाकिस्तान र भारतबीच सैन्य तनाव चुलिएको छ। तनावपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ।

वैशाख २४, २०८२ बुधबार ०७:५८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।