पाँच भारतीय लडाकु विमान खसालेको पाकिस्तानी सेनाको दाबी

एजेन्सी : भारतले सियालकोट, कोटली, बहावलपुर र मुजफ्फराबादलगायतका पाकिस्तानी भूभागमा रातिको समयमा गरेको हवाई आक्रमणको जवाफमा पाकिस्तानले पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ।
दुई देशबीचको यो सैन्य झडपले पुनः दक्षिण एसियाली क्षेत्रीय शान्तिमा खतरा उत्पन्न गराएको छ।
भारतीय सेनाले बुधबार बिहान १ बजे ‘अप्रेसन सिन्दूर’ नामक योजना अन्तर्गत एकसाथ छ वटा लक्ष्यमा आक्रमण गरेको पुष्टि भएको हो। प्रारम्भिक रूपमा पाकिस्तानको कोटली, बहावलपुर, मुजफ्फराबाद, सियालकोट लगायतका स्थानहरू लक्षित गरिएको थियो। आक्रमणपछि पाकिस्तानको सुरक्षा संयन्त्र तुरुन्तै सक्रिय बनेको थियो।
आक्रमणको केही समयमै पाकिस्तान सेनाको प्रवक्ताको कार्यालय (आईएसपीआर)ले भारतीय आक्रमण पुष्टि गर्दै पाकिस्तान वायुसेनाका लडाकु विमानहरू आकाशमा उडेकाे जनाएको थियो। त्यसको दुई घण्टाभित्र पाकिस्तानले दुई भारतीय विमान खसालेको पुष्टि सूचना मन्त्री अत्ताउल्लाह तारारमार्फत गरिएको थियो।
पाकिस्तानको स्थानीय समयअनुसार बिहान ३:४२ बजे सरकारी टेलिभिजन पीटीभीमार्फत तेस्रो विमान (एक रफाल) अवन्तिपोरा नजिकै पाकिस्तान वायुसेनाले खसालेको घोषणा गर्यो।
उक्त विमान समुद्री सतहबाट १७ नौटिकल माइल दक्षिणपश्चिममा खसेको बताइएको छ। थप दुई भारतीय विमान खसालिएको पुष्टि बिहान ५ बजेपछि रक्षा र सूचना मन्त्रालयले एकसाथ गरेका थिए।
मानव क्षति र भौतिक प्रभाव
आईएसपीआरका अनुसार, भारतीय आक्रमणमा हालसम्म दुई बालबालिकासहित आठ जना पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको छ भने दर्जनौं घाइते छन्। दुई जना बेपत्ता छन्।
अधिकांश हमला मस्जिद तथा आवासीय क्षेत्रमा केन्द्रित भएको र त्यसले आम सर्वसाधारणको जनजीवनमा गहिरो असर पारेको सुरक्षा स्रोतहरूले जनाएका छन्।
भारत र पाकिस्तानबीच यस्ता सैन्य झडपहरू विगतमा पनि पटक–पटक देखिँदै आएका छन्। सन् २०१९ मा पुलवामा घटनापछि बालाकोट हवाई आक्रमण तथा त्यसको प्रतिआक्रमणले दुई देशलाई युद्धको नजिक पुर्याएको थियो।
यसपटक पनि झडप अचानक चर्किएको र कूटनीतिक सन्देश साटासाटको पूर्वचेतावनी बिना भएको बताइन्छ। अन्तर्राष्ट्रिय समुदायले चाँडै दुवै पक्षलाई संयमता अपनाउन आह्वान गर्न थालेको छ।
संयुक्त राष्ट्रसंघ, चीन, संयुक्त राज्य अमेरिका र अन्य कूटनीतिक साझेदारहरूले परिस्थितिलाई नियन्त्रणमा ल्याउन पहल गर्न आग्रह गरेका छन्।
घटनापछि पाकिस्तानका प्रधानमन्त्रीले तत्काल राष्ट्रिय सुरक्षा समितिको आकस्मिक बैठक डाकेका छन्। बैठकमा सम्भावित कूटनीतिक, सैन्य र मानविक प्रतिकृयाहरूबारे निर्णय हुने बताइएको छ।
यस्तै भारतले स्थानीय समयअनुसार विहान १० बजे पत्रकार सम्मेलन गर्दैछ। उक्त पत्रकार सम्मेलनमा भारततर्फ भएको क्षतिबारे जानकारी दिइने छ।
वैशाख २४, २०८२ बुधबार ०७:३४:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।