भारतको सैन्य कारबाहीमा परेर पाकिस्तानमा तीन वर्षीया बालिकासहित आठ जनाको मृत्यु, ३५ जना घाइते

भारतको सैन्य कारबाहीमा परेर पाकिस्तानमा तीन वर्षीया बालिकासहित आठ जनाको मृत्यु, ३५ जना घाइते

काठमाडौं : भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरमा गरेको सैन्य कारबाहीमा तीन वर्षीया बालिकसहित आठ जनाको मृत्यु भएको छ।

मध्यरातपछि भारतले कोटली, बहावलपुर, मुरिदके, बाग र मुजफ्फराबादमा आक्रमणमा परेर ३५ जना घाइते र दुई जना बेपत्ता भएको पाकिस्तानी सेनाका प्रवक्ताले जनाएका छन्।

प्रधानमन्त्री शहबाज शरीफले घटनाको उच्चस्तरीय समीक्षा गर्न आज बिहान १० बजे राष्ट्रिय सुरक्षा समितिको आकस्मिक बैठक बोलाएका छन्। घटनापछि मुलुकभरका उडानहरू स्थगित गरिएको छ भने आउने-जाने सबै व्यावसायिक उडानहरू कराँचीतर्फ मोडिएको विमानस्थल स्रोतले जनाएको छ।

भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरमा ‘अपरेशन सिन्दूर’मा नाम दिएर हवाई हमला गरेको हो। भारतीय सेनाले अतिवादी गतिविधि गरेको आरोपमा जैश ए-मोहम्मद र लश्करका शीर्ष नेतृत्व रहेका क्षेत्रलाई निशाना बनाएको दाबी गरेको छ।

यो आक्रमणबारे अमेरिका, बेलायत, साउदी अरेबिया, युएई र रूसलाई दिइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। ‘अपरेशन सिन्दूर’का कारण भारतीय हवाई उडानहरू अस्तव्यस्त भएका छन्।

पाकिस्तानका विभिन्न स्थानमा लक्षित आक्रमण गरेपछि पाकिस्तानी सेनाले जवाफी कारबाहीमा तीन भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ। राज्य सञ्चालित टेलिभिजन ‘पीटीभी’ले पाकिस्तानी सुरक्षास्रोतलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो।

यसैबीच भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया जनाएका छन्। उनले घटनालाई दुःखद भन्दै भारत-पाकिस्तानबीचको दशकौँदेखि चलिरहेको विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरे।

१३ दिनअघि पहलगाममा भएको आतंकवादी घटनाको बदलास्वरूप भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित काश्मिरमा आक्रमण गरेको हो। पाकिस्तानले भारतद्वारा गरिएको कायरता पुर्वक आक्रमणको जवाफ दिने बताएको छ।

वैशाख २४, २०८२ बुधबार ०७:२५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।