नारायणीको स्वास्थ्य उपकरण खरिदमा ‘कमिसन-मैत्री’ सर्त, १७ करोडको ठेक्कामा डा चुमनलालको प्याकेजिङ

काठमाडौं : नारायणी अस्पतालले फरक-फरक प्रकृतिका सामग्रीहरूको एकै प्याकेज बनाएर निश्चित कम्पनीले मात्र प्रतिस्पर्धा गर्न सक्ने गरी निकालेको करिब १७ करोड ३४ लाख मूल्यको चार वटा टेन्डर स्वीकृति गर्ने प्रक्रिया अगाडि बढाएको छ।
अस्पतालले एक करोड ४० मा ‘क्याथ ल्याब’, तीन करोड ४८ लाखमा ‘युरो सर्जरी’, चार करोड ६० लाखमा ‘मेडिकल इक्वीप्मेन्ट्स’ र सात करोड ८६ लाखमा ‘ओटी सेटअप’ सम्बन्धी मेसिन खरिदका लागि प्रस्ताव आव्हान गरेको थियो।
अस्पताल प्रशासनले प्रक्रियाको प्रारम्भदेखि निश्चित कम्पनीको उत्पादक मेसिनसँग मात्र मिल्ने गरी मापदण्ड बनाएर खरिद प्रक्रिया अगाडि बढाएको थियो। अन्य सप्लायर्सहरुले मापदण्ड बदनियतका साथ निश्चित कम्पनीको प्रस्ताव मात्र पास हुने गरी बनाएको भन्दै संशोधनको माग गरेका थिए। तर लक्ड खुलेन।
चार टेन्डरमध्ये ओटी सेटअप सम्बन्धी मेसिनको खरिद मापदण्डका केही प्रावधान संशोधन गरिए पनि अन्य तीनको जस्ताको त्यस्तै राखियो। निश्चित कम्पनीलाई फाइदा दिने नियतले अस्पताल प्रशासनले खरिद प्रक्रिया अगाडि बढाइको देखिएपछि अन्य सप्लायर्स कम्पनीहरू प्रतिस्पर्धामा सहभागी नै भएनन्।
अस्पताल प्रमुख चुमनलाल दासका अनुसार चार वटा टेन्डरमा एक-एक मात्रै प्रस्ताव परेका थिए। एक मात्र प्रस्ताव पर्दा प्रतिस्पर्धा हुन नसक्ने भएकाले अस्पताल प्रशासनले प्रक्रिया रद्द गर्न सक्थ्यो। तर गरेन। उसले एक-एक प्रस्तावकको प्राविधिक प्रस्ताव स्वीकृत गरेर सूचना जारी गर्यो।
अस्पतालले वैशाख २२ गते सार्वजनिक गरेको प्राविधिक प्रस्ताव स्वीकृत भएको आशयको सूचनामा चार वटै ठेक्कामा एक-एक मात्रै सप्लायर्स कम्पनी छनौट गरिएको छ। सूचनामा आर्थिक प्रस्ताव वैशाख २८ मा खुल्ने जनाएको छ।
चार टेन्डरका लागि चार वटा सप्लायर्स कम्पनीलाई प्राविधिक मूल्याङ्कनको चरणमा छनोट गरेको छ। अस्पताल प्रशासनले सेटिङको पूर्व योजना अनुसार नै टेन्डर प्रस्ताव गरेका सप्लायर्स कम्पनीहरूलाई नै प्राविधिक मूल्याङ्कनको चरणमा छनोट गरेको प्रस्ट देखिन्छ।
नारायणी अस्पतालको खरिद प्रक्रियाका चार वटा टेन्डरमध्ये करिब १२ करोड ४६ लाख रुपैयाँको दुई वटा टेन्डरको प्राविधिक मूल्याङ्कनमा ‘पीएसई लाइफ साइन्सेस प्रालि’ छानिएको छ। यो बारा सिम्रौनगढका शशी कुमार श्रीवास्तवको कम्पनी हो।
श्रीवास्तवको कम्पनीले करिब सात करोड ८६ लाखमा ‘ओटी सेटअप’ सम्बन्धी मेसिन र करिब चार करोड ६० लाखको ‘मेडिकल इक्विप्मेन्ट्स’को टेन्डरको प्राविधिक मूल्याङ्कनमा एक्लै छनौट भएको छ। यो कम्पनीले नारायणी अस्पतालले निकाल्ने अधिक टेन्डर पाउने गरेको देखिन्छ। अस्पताल प्रशासन श्रीवास्तवको प्रभावमा देखिन्छ।
करिब तीन करोड ४८ लाखको ‘युरो सर्जरी इक्विप्मेन्ट्स’ सम्बन्धी मेसिनको टेन्डर ‘डीबी मेडिसिन सेन्टर’ एक्लै छानिएको छ। यसको सञ्चालक दुश्यन बस्नेत हुन्। एक करोड ४० को ‘क्याथ ल्याब इक्विप्मेन्ट्स’ को टेन्डर ‘बायोमेड इन्टरनेश्नल प्रालि’ छानिएको छ। ‘बायोमेड इन्टरनेश्नल प्रालि’ का प्रमुख उमेश अग्रवाल हुन्।
प्राविधिक मूल्याङ्कनको चरणमा सप्लायर्स कम्पनीले पेस गरेको मेसिन, औजार तथा उपकरण टेन्डर आह्वान गर्ने संस्थाले सार्वजनिक गरेको स्पेशिफिकेशनसँग मिल्छ की मिल्दैन भन्ने जस्ता प्राविधिक पक्षको मूल्याङ्कन गरिन्छ।
प्राविधिक मूल्याङ्कनको चरणमा छनोट भएका सप्लायर्स कम्पनीको मात्रै आर्थिक मूल्याङ्कन हुन्छ। आर्थिक मूल्याङ्कनको चरणमा पनि छनोट भएपछि निश्चित खरिदका प्रक्रिया पूरा गरी टेन्डर पाउने सप्लायर्स कम्पनीले सामग्री ल्याइदिन्छन्।
टेन्डर प्रस्ताव गरिसकेपछि मूल्याङ्कनको चरण सुरु हुन्छ। यो टेन्डरमा अस्पतालले ‘सिङ्गल स्टेज टु इन्भेलोप बिडिङ प्रोसेस’ विधि अपनाइएको छ। ‘सिङ्गल स्टेज टु इन्भेलोप बिडिङ प्रोसेस’ भनेको ‘दुई खाम विधि’ हो।
बजेट सिलिङ र लागत अनुमानको सीमाभित्र रहेर प्रस्ताव गरिएको अवस्थामा विना प्रतिस्पर्धा साढे १७ करोडको टेन्डर यी तीन कम्पनीले नै पाउने छन्। नारायणी अस्पतालले यी तीन सप्लायर्स कम्पनीलाई एकल रूपमा प्राविधिक मूल्याङ्कनको चरणमा छनोट गर्दै आर्थिक प्रस्ताव खुल्ने सम्बन्धी सूचना जारी गरेकाले मूल्यमा प्रतिस्पर्धा हुने सम्भावना छैन।
छनोट विधि र आपूर्तिको समयमा खेल
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै विशेष अदालतमा दायर गरेको मधेस प्रदेशको स्वास्थ्य सामग्री खरिद प्रक्रियाको अनियमितता सम्बन्धी अभियोग पत्रमा खरिद मापदण्ड निश्चित कम्पनीका लागि मात्र मिल्नेगरि बनाएर खरिदमा प्रतिस्पर्धा हुने वातावरण नबनाउनुलाई समेत भ्रष्टाचार भनेको छ। नारायणी अस्पताल प्रशासनले यी चार वटै टेन्डरमा यसरी नै भ्रष्टाचारको रणनीति बनाएको देखिन्छ।
यसमा पहिलो बदनियत खरिद मापदण्डमै गरेको देखिन्छ। मापदण्डमा खेलेर निश्चित कम्पनीको उत्पादक मेसिनको मापदण्ड मात्रै मिल्ने बनाइयो। स्वतन्त्र प्रतिस्पर्धा नहुने भएपछि अन्य प्रस्तावकहरू नै आएनन्।
अर्को, नारायणी अस्पतालले टेन्डरमा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (आइसिबी) लाई निषेध गर्दै ‘राष्ट्रिय स्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ (एनसीबी) विधि अपनायो।
अस्पतालले यी चारवटै टेन्डरमा ३० दिन भित्रमा सामग्री ल्याइदिनुपर्ने अनौठो सर्त समेत राखेको छ अस्पताल प्रशासनले। यो सर्तले पनि यी चारै खरिद प्रक्रिया मिलेमतोमा अगाडि बढेको देखिन्छ।
यी मेसिन तथा औजार र स्वास्थ्य सामग्री नेपालमा बन्दैनन्, विदेशबाट नै ल्याउने हो। सप्लायर्सले टेन्डर पाएपछि नै मेसिन तथा उपकरण ल्याउने प्रक्रिया अगाडि बढाउने हो। विदेशबाट सामान्यतया ३० दिनमा यी सामान ल्याउन सम्भव छैन।
तर, यी चार वटै टेन्डरमा ३० दिनमा सामान ल्याइदिनुपर्ने सर्त राखिनुले टेन्डर प्रक्रिया अगाडि बढाउने चरणमै कसलाई टेन्डर दिने भन्ने पक्कापक्की गरेर यता सामान ल्याउने र उता खरिद प्रक्रिया अगाडि बढाउने काम सँगै सुरु भएको देखाउँछ। ३० दिनभित्र सामान दिने अर्को सम्भावना सप्लायर्सले पहिल्यै ल्याएर गोदाममा राखेको मात्र हो।
असम्बन्धित सामानको एकै प्याकेज
हालै संशोधन भएको भ्रष्टाचार निवारण ऐन, २०८१ मा राखिएको प्रावधान र नारायणी अस्पतालले अगाडि बढाएको खरिद प्रक्रियाको मापदण्ड हेर्ने हो भने सिधै भ्रष्टाचार देखिन्छ।
ऐनमा ‘प्रतिस्पर्धालाई जानी जानी प्रभाव शून्य वा सीमित वा कमजोर बनाउने उद्देश्यले सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानून प्रतिकुल हुने गरी सर्त तथा मापदण्ड निर्धारण गर्ने, गराउने वा खरिद कार्यलाई टुक्र्याउने, टुक्र्याउन लगाउने वा प्याकेजिङ गर्ने गराउने’ कामलाई भ्रष्टाचार मानेको छ।
ऐनले यस्तो काम गरेको प्रमाणित भएमा तीन वर्ष सम्म कैद र बिगो बमोजिम जरिवाना गरी असुल उपर गरिने उल्लेख छ। ऐनमा ‘मनासिब कारण बिना लागत इष्टिमेट अस्वाभाविक रूपमा बढाई संशोधन गरी काम गर्ने, गराउने’ गैर कानुनी लाभ वा हानि पुर्याउने बदनियतले काम गर्नेलाई सजाय हुने थप व्यवस्था गरेको छ। यसमा पनि तीन वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना र बिगो असुल उपर गरिने व्यवस्था छ।
अब नारायणीको टेन्डरको प्याकेजहरू हेरौँ।
अस्पतालले २०८१ चैत १२ मा टेन्डर आह्वान गर्दै खरिद प्रक्रिया अगाडि बढाएको ‘ओटी सेटअप’ सम्बन्धी मेसिनको ठेक्का प्रक्रियामा सुरुदेखि नै बदनियत देखिएको थियो। अस्पतालले सुरुमा एउटै टेन्डरमा ‘११’ वटा सामग्रीको एउटा प्याकेज बनाएको थियो। यो करिब सात करोड ८६ लाखको देखिन्छ।
अस्पतालले प्रारम्भमा एउटै टेन्डरमा ‘११’ किसिमका फरक–फरक प्रकृतिका सामग्रीको एउटै प्याकेज बनाएको टेन्डर प्रक्रिया अगाडी बढाएको थियो। प्रिबिड मिटिङपछि २०८२ वैशाख ८ (२०२५, अप्रिल २१) मा अस्पताल प्रशासनले केही प्रावधान संशोधन गर्दै ‘११’ किसिमका सामग्रीको प्याकेज फुटाएर ११ वटै सामग्री छुट्टाछुट्टै रूपमा टेन्डर प्रस्ताव गर्न मिल्ने बनायो।
तर, अस्पतालले यो टेन्डरको प्याकेज फुटाउनुको कुनै अर्थ देखिएन। प्याकेज बनाउँदा टेन्डरमा मिलेमतो भएको पुष्टि हुने भएपछि फुटाइयो तर मापदण्डमा गरिएको मुख्य लक्ड बुँदा संशोधन भएन। यो पीएसई लाइफ साइन्सेस प्रालिका लागि लक्ड गरेको देखियो। उसैले मात्र प्रस्ताव गर्यो। उसैको प्राविधिक प्रस्ताव पास भयो। यसको टेन्डर (आइएफबी) नम्बर ‘एन एचएनसीबी-गुड्स-२०८१-०८२-१५’ छ।
१० वटा सामग्रीको एउटाै प्याकेज
नारायणीको अर्को टेन्डर पनि उसैगरि प्याकेज बनाएर लक्ड गरेको देखियो। अस्पतालले करिब चार करोड ६० लाखमा विभिन्न १० किसिमका सामग्रीलाई एउटै प्याकेज बनाएर ‘मेडिकल इक्विप्मेन्ट्स’ खरिद गर्ने गरी प्रक्रिया अगाडि बढायो।
अस्पतालले ‘डियोड लेजर’ एक, ‘बब्बल सिप्याप मेसिन वीथ सर्भिस कन्ट्रोल ह्युम्डिफायर’ पाँच वटा, ‘न्यूनेटल थर्मल केयर युनिट हाइ इन्ड’ एउटा, ‘होलबडी हाइपरबिलिरुबिनेमिया ट्रिटमेन्ट युनिट’ एक, ‘प्लाज्मा स्टेरिलाईजेशन डिभाइस’ एकलाई प्याकेजमा राख्यो।
त्यसैगरी ‘पेसेन्ट वार्मिङ युनिट’ दुई वटा, ‘एडभान्स अपरेटिङ रन एस्पीरेटर’ तीन वटा, ‘अब्सटेट्रिक भ्याक्युम एक्सट्राक्टर मेसिन’ दुई वटा, ‘पेसेन्ट ट्रान्सफर ट्रली’ पाँच वटा, ‘क्रास कार्ट ट्रली पाँच वटालाई पनि सोही प्याकेजमा राखियो। यी मध्ये केही सामग्री फरक-फरक प्रकृतिका छन्।
‘बब्बल सिप्याप मेसिन वीथ सर्भिस कन्ट्रोल ह्युम्डिफायर’ ‘होलबडी हाइपरबिलिरुबिनेमिया ट्रिटमेन्ट युनिट’ र ‘प्लाज्मा स्टेरिलाईजेशन डिभाइस’ जस्ता मेसिन तथा उपकरण एउटै प्याकेजमा राख्न जरुरी देखिँदैन। यसको उद्देश्य मिलेमतो नै देखिन्छ।
यसमा पनि पीएसई लाइफ साइन्सेस प्रालीले मात्र प्रस्ताव गर्यो र उही मात्र प्राविधिक मूल्याङ्कनमा पास भयो। नारायणी अस्पतालले यो २०८१ फागुन २७ मा टेन्डर आह्वान गरेको थियो। यसको ठेक्का (आइएफबी) नम्बर ‘एनएच-एनसीबी-गुड्स-२०८१-०८२-१४’ हो।
सात सामग्रीको पनि एकै प्याकेज
अस्पताल प्रशासनले करिब तीन करोड ४८ लाखमा ‘युरो सर्जरी इक्विप्मेन्ट्स’ सम्बन्धी मेसिन किन्न आव्हान गर्दा सात वटा सामग्रीलाई एकै प्याकेजमा राखिदियो।
यसमा ‘पोर्टेबल रियुजेबल नासोफ्रीङ्गोलारिङ्गोस्कोप’ एक, ‘लिथोट्रिप्सी (न्योम्याटिक-बालिष्टिक सिस्टम)’, एक, ‘युरेथ्रोटोमी सेट’, एक, ‘युरोडाइनामिक सेट’, एक, ‘फ्लेक्जिबल यूआरएस सेट’, ‘अल्ट्रासोनिक स्काल्पेल सिस्टम’ र एउटा ‘यूरोफ्लोमिट्री मेसिन सेट’ को प्याकेज बनाएको छ।
यसमा कैलालीको डीबी मेडिसिन सेन्टरको मात्र प्रस्ताव पर्यो। उसैको प्राविधिक प्रस्ताव मूल्याङ्कनमा पास भएको छ। अस्पतालले यो २०८१ फागुन १६ मा टेन्डर आह्वान गरेको थियो। यसको ठेक्का (आइएफबी) नम्बर ‘एनएच-एनसीबी-गुड्स-२०८१-०८२-१३’ हो।
तीन सामग्रीको पनि एकै प्याकेज
एक करोड ४० मा ‘क्याथ ल्याब इक्विप्मेन्ट्स’ खरिद गर्ने गरी अगाडि बढेको टेन्डरमा पनि उसैगरि प्याकेज बनाइएको छ।
यसमा ‘सिस्टम अफ एनेस्थेसिया डेलिभरी वीथ कार्डियाक बाइपास फंशन’, ‘इस्केमीया डिटेक्शन इलेक्ट्रो आर्डियोग्राफी मेसिन’ र ‘पोर्टेबल इको मेसि’ लाई एकै प्याकेजमा राखिएको छ। यो पनि मिलेमतोमै अगाडि बढेको देखिन्छ।
यसमा काठमाडौं ठेगाना भएको ‘बायोमेड इन्टरनेश्नल प्रालि’ ले मात्र प्रस्ताव दर्ता गर्यो। प्राविधिक स्पेशिफिकेशनको मूल्याङ्कनको चरणमा उ मात्र छनोट भयो।
२०८१ फागुन १६ मा टेन्डर आह्वान भएको यसको ठेक्का (आइएफबी) नम्बर ‘एनएच-एनसीबी-गुड्स–२०८१-०८२-१२’ हो।
‘निजी सप्लायर्यस’लाई स्पेशिफिकेशन बनाउने जिम्मा
यो टेन्डर प्रक्रियामा अर्को रमाइलो पक्ष नि छ। अस्पताल प्रशासनले खरिद मापदण्ड बनाउन जुन बायोमेडिकल इन्जिनियरलाई प्रयोग गरेको छ उनी आफैँ स्वास्थ्य उपकरण तथा सामग्री सप्लाइ गर्ने निजी कम्पनीमा संलग्न छन्।
ती हुन् बायोमेडिकल इन्जिनियर हुन्, अमित चौधरी। उनी यसरी नै अस्पतालहरूमा खुल्ने स्वास्थ्य उपकरणको खरिदमा प्रतिस्पर्धा गर्ने कम्पनी ‘एमकेयर टेक्नोलोजी’ सप्लायर्समा आबद्ध छन्। बायोमेडिकल इन्जिनियर चौधरी आफैँले केही दिन अघि उकेरासँग आफू ‘एमकेयर टेक्नोलोजी’मा काम गर्ने स्विकारेका पनि थिए।
सप्लायर्स कम्पनीको बायोमेडिकल इन्जिनियरलाई खरिद मिलेमतोको योजना अनुसारै परामर्शदाताका रूपमा नारायणी अस्पतालमा लगेर निश्चित कम्पनीलाई फाइदा हुनेगरि स्पेशिफिकेशन बनाएको देखिन्छ।
खरिद प्रक्रियामा यति धेरै बदनियत देखिए पनि नारायणीका अस्पताल प्रमुख डा चुमनलाल दासले ‘चार वटै टेन्डरमा सिङ्गल बिड मात्र परेको हो’ भन्ने बहाना बनाएर तर्किए।
वैशाख २३, २०८२ मंगलबार २०:३०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।