‘मेरी बास्सै’ देखिको दोस्ती टुट्यो, राजुले ‘जुठे’ छाडेपछि बल्छी एक्लै

काठमाडौं : हास्य कलाकार राजु पौडेल (गोथे) र मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को दुई दशक लामो सहकार्य टुटेको छ। ‘जुठे’को छायांकनमा राजु नदेखिएपछि उनीहरू अलग भएको शंका उब्जियो। त्यही शंका मेट्न हामीले राजुलाई सम्पर्क गर्दा पुष्टि भयो- सम्बन्धमा टुटेकै रहेछ। राजुले आफ्नै नयाँ श्रृंखला ‘सकस’मा ध्यान दिनुपर्ने कारण देखाउँदै ‘जुठे’ छाडेको उकेरालाई भने।
अचेल कुनै पनि कलाकारबीच मनमुटाव हुनु अब सामान्य जस्तै भएको छ। प्रायः यस्तो टुटफुटको कारण आर्थिक विषय नै हुने गर्छ। यद्यपि धेरै कलाकारले भने समय अभाव र नयाँ कामका कारण छुट्टिएको दाबी गर्छन्।
एक दशकअघि ‘मेरी बास्सै’बाट केदार घिमिरे (माग्ने बुढा) र सीताराम कट्टेल (धुर्मुस) बाहिरिएका थिए, जुन छुट्टाइको कारण पनि आर्थिक विवाद नै भनिएको थियो। त्यसपछि ‘मेरी बास्सै’को नेतृत्व राजु र मरिचमानले सम्हाले। लेखन, निर्देशन र अभिनयसम्म सँगै काम गरेका यी दुई बीचको सहकार्य निकै सुमधुर थियो- टेलिश्रृंखला होस् वा स्टेज कार्यक्रम।
तर, हिमालय टेलिभिजनबाट प्रसारण हुने ‘हल्का रमाइलो’ कार्यक्रमबाटै दुई वर्षअघि उनीहरूको सहकार्य टुंगिएको हो। त्यसपछि पनि राजु ‘जुठे’ श्रृंखलामा भने सक्रिय थिए। बल्छीले ‘हल्का रमाइलो’ आफ्नै युट्युब च्यानलमार्फत प्रसारण गरिरहे भने ‘जुठे’ राजु नेतृत्वमा चलिरहेको थियो।
यद्यपि केही युट्युब अन्तर्वार्तामा दुबैजनाले आफूहरूबीच कुनै तिक्तता नरहेको बताएका थिए, तर पछिल्लो अवस्थाले त्यो कुरा पुष्टि गर्दैन। तीन दिनअघि राजुले सामाजिक सञ्जालमा ‘जुठे’ चाँडै नयाँ कथासहित फर्किने लेखेका थिए। उनले दर्शकका गुनासोलाई ध्यानमा राखेर नयाँ ढंगले ल्याउने तयारी भइरहेको बताएका थिए।
तर सोमबार लमजुङमा गरिएको ‘जुठे’को नयाँ छायांकनमा राजु सहभागी भएनन्। उनी नै प्रमुख पात्र ‘गोथे’को भूमिकामा थिए। यसबाट स्पष्ट हुन्छ- दुई दशक लामो सहकार्य अन्त्य भएको छ।
राजुले उकेरासँगको कुराकानीमा आफूले यसै हप्ताबाट ‘जुठे’ छाडेको पुष्टि गरे। ‘मैले आफ्नै सिरियलमा ध्यान दिन भनेर जुठे छाडेको हुँ,’ उनले भने, ‘अरू कुनै कारण छैन।’
राजुले ‘हल्का रमाइलो’ र ‘जुठे’ छाडेपछि आफ्नै युट्युब च्यानलमार्फत ‘लफडा’ र ‘सकस’ जस्ता श्रृंखला निर्माण गर्दै आएका छन्। यता बल्छी धुर्बेले भने फोन उठाएनन्। उनी ‘जुठे’कै सुटिङका लागि लमजुङमा छन्।
श्रृंखलादेखि स्टेजसम्मको सहकार्य
राजु मास्टर र बल्छी धुर्बेले ‘मेरी बास्सै’को समयदेखि नै स्टेज कार्यक्रममा सँगै प्रस्तुति दिँदै आएका थिए। ‘हल्का रमाइलो’सम्म आइपुग्दा उनीहरूले देश-विदेशमा दर्शकलाई हसाउँदै आएका थिए।
तर, राजुले ‘हल्का रमाइलो’ छाडेपछि उनीहरूको स्टेज सहकार्य पनि टुटेको छ। राजु ‘सकस’ निर्माणमा व्यस्त छन् भने बल्छीले अब पुजन घिमिरेलाई लिएर स्टेज कार्यक्रम गरिरहेका छन्। पछिल्लो समय उनीहरू अष्ट्रेलियासम्म पुगे। तर त्यो ‘टूर’ मा पनि राजु अटाएनन्।
अब राजु र बल्छीबीचको टाढिएको सहकार्यको कारण- केवल कार्य व्यस्तता मात्रै हो वा गहिरो मनमुटाव। अनुमान गर्न गाह्रो छैन।
वैशाख २३, २०८२ मंगलबार २०:२४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।