गभर्नरको भाग कांग्रेसलाई

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा प्रधानमन्त्री केपी शर्मा ओलीको दोष नरहेको बताए। उनले प्रधानमन्त्री ओली ‘गभर्नर’ कांग्रेसलाई दिन तयार रहेको समेत बताए। ‘उहाँ कांग्रेसलाई दिन तयार हुनुहुन्छ, त्यसमा केही समस्या छैन,’ देउवाले भने।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राष्ट्र बैङ्कको आन्तरिक समस्याका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको दाबी गरे।
उनले भने, ‘अहिले एमाले पार्टीका नेता केपी ओलीसँग गठबन्धन छ । गठबन्धनमा कुनै समस्या छैन। अहिले राष्ट्र बैंकको गर्भनरको विषयमा हामीबीच कुनै समस्या छैन । गभर्नर नियुक्ति ढिलो हुनुमा राष्ट्र बैङ्क भित्रकै समस्याले हो। ओलीको कारणले होइन।’
साथै उनले वर्तमान गठबन्धन सरकारले आर्थिक विकासलाई अझ प्राथमिकता दिन जरुरी रहेको बताए। उनले शिक्षा, स्वास्थ्य, सडक यातायात, सिँचाई, खानेपानी, विद्युत, बैङ्किङ लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गठबन्धन सरकारले गरेको उल्लेख गरे।
‘नेपाली कांग्रेसले नेतृत्व गरेको सरकारले २०४६ सालपछि आर्थिक विकासमा महत्वपूर्ण सफलता हासिल गरेको छ। शिक्षा, स्वास्थ्य, सडक यातायात, सिँचाई, खानेपानी, विद्युत, बैङ्किङ लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको पनि छ,’ उनले भने, ‘पार्टी संलग्न रहेको वर्तमान गठबन्धन सरकारले आर्थिक विकासलाई अझ प्राथमिकता दिन जरुरी छ।’
वैशाख २३, २०८२ मंगलबार १८:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।