पाँच दशक लामो राजनीतिक यात्राका साक्षी वामपन्थी नेता प्रदीप नेपाल

काठमाडौं : पछिल्लो समयमा प्रदीप नेपाल सक्रिय राजनीतिबाट केही टाढिए पनि समकालीन राजनीतिक घटनाक्रममा विश्लेषण गरिरहन्थे।
उनको विश्लेषण र टिप्पणीलाई महत्वको रुपमा हेरिन्थ्यो। नेपालको वर्तमान राजनीतिक अवस्थाप्रति भने उनले पटकपटक चिन्ता व्यक्त गरे।
राजनीतिक विचारधारामा प्रदीप नेपाल मध्यमार्गी र बौद्धिक नेताको रूपमा चिनिन्थे। प्रजातान्त्रिक मूल्य मान्यता र समाजवादी सिद्धान्तबीच सन्तुलन कायम गर्नुपर्ने उनको दृष्टिकोण थियो।
‘वामपन्थी आन्दोलन भनेको मात्र विरोध होइन, यो एउटा वैकल्पिक विकासको मोडेल पनि हो,’ उनले भन्ने गर्थे। ‘हामीले आर्थिक विकास र सामाजिक न्यायलाई सँगसँगै लैजानुपर्छ।’
प्रदीप नेपालको ५ दशक लामो राजनीतिक यात्रा नेपालको आधुनिक राजनीतिक इतिहासको एक महत्त्वपूर्ण अध्याय हो। पञ्चायती निरंकुशता विरुद्धको संघर्षदेखि बहुदलीय प्रजातन्त्र, संवैधानिक परिवर्तन र समावेशी लोकतन्त्रसम्मको यात्रामा उनको योगदान अविस्मरणीय छ।
नेपाली वामपन्थी आन्दोलनका एक बहुआयामी व्यक्तित्व प्रदीप नेपालको राजनीतिक यात्रा निकै उतारचढावपूर्ण रह्यो। ५ दशकभन्दा लामो राजनीतिक यात्रामा उनले नेपालको राजनीतिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे।
प्रदीप नेपालको राजनीतिक यात्रा २०२०-२०२५ सालतिरको विद्यार्थी आन्दोलनबाट प्रारम्भ भएको थियो। त्यस समय उनी प्रखर वामपन्थी विचारधाराका अनुयायीका रूपमा चिनिन्थे। निरंकुश पञ्चायती शासनविरुद्ध संघर्षरत रहँदा उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आबद्ध भए।
‘त्यो समय निरंकुश शासनविरुद्ध आवाज उठाउनु भनेको ज्यानको बाजी थियो,’ एक अन्तर्वार्तामा नेपालले भनेका थिए। पञ्चायती शासनकालमा उनी भूमिगत रूपमा पार्टी संगठन विस्तारमा सक्रिय रहे। यस क्रममा उनलाई राजनीतिक विचारका कारण पटक-पटक गिरफ्तार गरिएको थियो। लामो जेल जीवन बिताउँदा पनि उनले आफ्नो राजनीतिक विश्वास र दृढता कायमै राखे।
२०४६ सालको ऐतिहासिक जनआन्दोलन र बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि प्रदीप नेपाल खुला राजनीतिमा प्रवेश गरे। पार्टी एकीकरणपछि गठित नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा उनले वरिष्ठ नेतृत्वको भूमिका निर्वाह गरे। उनको बौद्धिक क्षमता र सन्तुलित राजनीतिक दृष्टिकोणका कारण पार्टीमा उनको विशेष स्थान थियो।
राजनीतिक करिअरमा प्रदीप नेपालले विभिन्न सरकारहरूमा महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व गरे। उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्री भए। त्यसपछि पनि स्वास्थ्य, शिक्षा र वातावरण मन्त्री भए।
प्रदीप नेपाल पटक-पटक संसद सदस्यमा निर्वाचित भए। संसदमा उनको प्रभावशाली वक्तृत्वकला र तथ्यपरक विश्लेषणका कारण विपक्षी दलका नेताहरू समेत उनको सम्मान गर्थे। एमाले पार्टीभित्र उनी संगठनात्मक व्यवस्थापन र नीति निर्धारणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्थे।
२०४८ सालमा राष्ट्रिय सभा सदस्य भएका उनी २०५४ मा नि राष्ट्रिय सभा सदस्य भए।२०५४ मा उनी काठमाडौंबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।
उनै वामपन्थी नेता एवं साहित्यकार प्रदीप नेपालको मंगलबार निधन भयो। उनको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।
वैशाख २३, २०८२ मंगलबार १७:३१:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।