‘कुलमानलाई हटाउँदा प्रचण्डको मुटुमै गोली लागेको जस्तो भयो’

‘कुलमानलाई हटाउँदा प्रचण्डको मुटुमै गोली लागेको जस्तो भयो’

काठमाडौं : एमालेका सांसद योगेश भट्टराईले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुटुमै गोली लागेको जस्तो भएको टिप्पणी गरे।

मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारी हटाउन पाउनु सरकारको अविशिष्ट अधिकार रहेको बताए।

उनले भने, ‘केही कर्मचारीलाई सरकारले हटायो। यो सरकारको अविशिष्ट अधिकार पनि हो। यसमा समीक्षा गर्न सकिएला। तर म कमरेड प्रचण्डलाई भन्न चाहन्छु- तपाईँले प्रधानसेनापतिलाई नै हटाउनु भएको थियो त ? एक पटक सम्झिनु त अस्तीको कार्यकालमा काम गरिरहेको मुख्य सचिवलाई हटाउनुभयो। अनि अर्को मुख्यसचिव ल्याउनुभयो। अनि केपी ओली नेतृत्वको सरकारले एउटा सहसचिवलाई हटाउँदा तपाईंको मुटुमै गोली लागेको जस्तो किन भएको छ ? यो त मुटुमै गोली लागेको जस्तो भयो नि त ।’

साथै, उनले प्रचण्डले वर्तमान सरकार अप्राकृतिक, स्वार्थ समूह र विचौलियाले बनाएको भनी गरेको टिप्पणीप्रति आपत्ति जनाए । उनले प्रचण्डलाई सिसाको घरमा बसेर अरूको घरतिर ढुङ्गा नहान्न आग्रह गरे।

‘विपक्षी दलको नेताले पटक-पटक सार्वजनिक भाषणमा पनि र यहाँ पनि भन्नुहुन्छ- यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, विचौलिया। मलाई के लाग्छ भनेदेखि मेरो यतिमात्रै भनाइ छ-सिसाको घरभित्र बसेर अर्काको घरमा ढुङ्गा हान्ने प्रयास नहोस् । धारा ७६ (२) अनुसार बनेको पुष्पकमल दाहालजीको सरकार प्राकृतिक हुने, धारा ७६ (२) अनुसार बनेको केपी ओलीको सरकार अप्राकृतिक हुने ?यो कुन संविधानबाट उहाँले व्याख्या गर्नुभयो ?’प्रश्न गर्दै उनले भने ।

वैशाख २३, २०८२ मंगलबार १५:२४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।