कोशी प्रदेशले तीन दिन गणतन्त्र दिवस मनाउने

कोशी प्रदेशले तीन दिन गणतन्त्र दिवस मनाउने

मोरङ : कोशी प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिन मनाउने भएको छ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले जेठ १४, १५ र १६ गते भव्य रूपमा दिवस मनाउने निर्णय गरेको मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले जानकारी दिए।

मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धिका सम्बन्धमा अन्तरक्रिया र कार्यक्रम आयोजना गर्न निर्देशन दिए। प्रदेश सरकारले आगामी गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ।

जेठ १४ गते प्रदेशका मन्त्रीहरूको नेतृत्वमा मन्त्रालय, स्थानीय तहका प्रमुखको नेतृत्वमा पालिका, कार्यालय प्रमुखको नेतृत्वमा कार्यालय भवन, परिसर सार्वजनिकस्थल सरसफाइ गर्ने भनिएको छ।

यस्तै सर्वसाधारण नागरिकहरूले आ-आफ्नो घरआँगन सरसफाइ गर्ने, लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धि विषयक कार्यपत्र, अन्तरक्रिया, पत्रकार सम्मान तथा निबन्ध प्रतियोगिता गरी पुरस्कार वितरण गर्ने, साँझ दीपावली गर्ने जनाएको छ।

त्यसैगरी, जेठ १५ गते मूल समारोह समितिका अध्यक्ष तथा सदस्यहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, नेपाल, प्रदेश सरकार, स्थानीय कर्मचारीहरू ब्यान्डबाजासहित सुरक्षा निकायका कर्मचारीहरू, विभिन्न सङ्घसंस्थाले रोडशेष चोकमा भेला भई प्रभातफेरी गरी महेन्द्र चोकमा आयोजित समारोहमा सहभागी भइ साँझ घरमा दीपावली गर्ने कार्यसूची बनाएको छ।

जेठ १६ गते अस्पतालका बिरामीहरुलाई फलफूल वितरण, मानव सेवा आश्रमका वृद्धवृद्धाहरुलाई फलफूल वितरण गर्ने र साँझ दीपावली गर्ने निर्णय गरिएको छ।

जिल्ला समन्वय समितिका अध्यक्ष सबै जिल्लामा, स्थानीय तहका प्रमुखको अध्यक्षतामा सबै स्थानीय तहमा गणतन्त्र दिवस भव्य रुपमा मनाउन पत्राचार गर्ने निर्णय गरिएको छ।

वैशाख २३, २०८२ मंगलबार १४:१३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।