प्रधानमन्त्रीले घोषणा गरेको तीन सय दिनमा बनेन त्रिवि क्रिकेट रंगशाला, २९९औं दिनमा यस्तो देखियो (फोटो फिचर)

काठमाडौं : त्रिभुवन विश्वविद्यालय परिसर, कीर्तिपुरस्थित क्रिकेट मैदानलाई फ्लडलाइटसहितको अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउने सरकारी योजना तोकिएको समयमा पूरा नहुने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ३१ गते आफूले सत्ता सम्हालेपछिको पहिलो मन्त्रिपरिषद् बैठकमा ३०० दिनभित्र त्रिवि क्रिकेट मैदानलाई प्यारफिट र फ्लडलाइटयुक्त रंगशाला बनाउने घोषणा गरेका थिए। प्रधानमन्त्रीले घोषणा गरेको ३०० दिनको म्याद बैशाख २४ गते सकिँदैछ, तर तोकिएकै समयमा निर्माण सम्पन्न नहुने पक्का भएको छ।
शहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानोगौचरणमार्फत प्याराफिट र फ्लडलाइट जडानका लागि गत फागुनमा ठेक्का सम्झौता भएको थियो।
प्याराफिट निर्माणका लागि रु. ४९ करोड २५ लाख ६७ हजार ३०२ र फ्लडलाइट जडानका लागि रु. ४७ करोड ३७ लाख ६८ हजार ७७ मा सम्झौता गरिएको थियो। तर, विभिन्न प्राविधिक र प्रशासनिक अवरोधका कारण कामले गति लिन सकेन।
प्रधानमन्त्री ओलीले बैशाख २२ गते निर्माणमा भएको ढिलाइबारे सम्बन्धित पक्षसँग स्पष्टीकरण मागेको सामाजिक सञ्जालमार्फत जानकारी दिए।
उनले भने, ‘त्रिविको जग्गा प्राप्तिमा ढिलाइ, रुख हटाउने कानुनी प्रक्रिया, डिजाइन परिवर्तन र वर्षाका कारण कालो माटो पन्छाउन समस्या भएकाले तीन सिफ्टमा काम गर्दा पनि समयसीमामा काम सकिएन।’
उनले निर्माण व्यवसायीलाई थप दुई महिना असार मसान्त २०८२ भित्र काम सक्न निर्देशन दिँदै समयमा काम नसकिए सरकारले कडा कदम चाल्ने चेतावनी दिए। ‘असारको अन्तिम सातासम्म कीर्तिपुरमा रंगशाला तयार हुनेमा ढुक्क छु’, उनले थपे।
शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सङ्घीय सचिवालयका प्रमुख चक्रवर्ती कंठसहित निर्माण व्यवसायीको टोलीले प्रधानमन्त्रीलाई हालसम्मको प्रगति विवरण बुझाएको छ। प्याराफिट निर्माणतर्फ भौतिक प्रगति ५५ प्रतिशत र वित्तीय प्रगति ४५.१९ प्रतिशत हुँदा फ्लडलाइट जडानतर्फ ३५ प्रतिशत भौतिक प्रगति र २३.८१ प्रतिशत वित्तीय प्रगति देखिन्छ।
निर्माण व्यवसायीका अनुसार, त्रिभुवन विश्वविद्यालयको जग्गा हस्तान्तरणमा ढिलाइ, रुख हटाउने कानुनी प्रक्रिया, डिजाइनमा परिवर्तन र वर्षाले माटो पन्छाउन कठिनाइ प्रमुख समस्याका रूपमा देखिए। यी चुनौतीका बाबजुद तीन सिफ्टमा काम भइरहेको टोलीले जनाएको छ। निर्माण व्यवसायीले असार मसान्तसम्म प्याराफिट र फ्लडलाइट जडानको काम पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।
हाल कीर्तिपुर रंगशालामा प्याराफिटको ढलान र प्लास्टरको काम तीव्र गतिमा भइरहेको छ भने फ्लडलाइटका लागि पोल स्थापना र विद्युतीय प्रणालीको प्रारम्भिक काम सुरू भएको छ।यसै सन्दर्भमा प्रधानमन्त्रीले घोषणा गरेको २९९ दिनमा कीर्तिपुरस्थित क्रिकेट रंगशालामा फ्लडलाइट जडान र प्याराफिट निर्माणको अवस्था के छ त?
तस्बिरमा हेर्नुहोस्:
वैशाख २३, २०८२ मंगलबार १३:४३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।