सत्ताधारी दलबाटै सदन अवरोध

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउको विषयलाई लिएर सत्तापक्षको कुर्सीमा बसेका दुई दल नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले सदन अवरोध गरेका छन्।
प्रतिनिधि सभा बैठकको शुरुमै समय लिएर पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना धारणा राखेपछि शून्य समयमा सांसदहरूले बोलेका थिए।
शून्य समयमा सांसदहरुले बोल्ने क्रम सकिएर नीति तथा कार्यक्रममाथि छलफल हुनुअघि पुनः दुई पार्टीका सांसदहरूले सदन अवरोध गरेका हुन्।
सांसद र सभामुखबीच केही समय सवालजवाफ भए पनि अन्ततः सभामुखले यसबारे जवाफ दिन सरकारलाई रुलिङ गरेपछि भने उनीहरु बसे र नीति तथा कार्यक्रममाथिको छलफल जारी छ।
बैठकको सुरूमै अध्यक्ष श्रेष्ठले वैशाख १७ गते सर्वोच्च प्रशासनको मनोमानीका कारण रेशम चौधरीलाई पक्राउ गरि केहिबेर कारागारमा राखिएको भन्दै निष्पक्ष छानबिनको माग गरेकी थिइन्।
‘यो घटनाको गहिरो अध्ययन होस्। यहाँ मात्र एक जनाको गिरफ्तारी होइन, संघीयता, समावेशिता र लोतकन्त्रप्रतिको विश्वासका चोट लागेको छ,’ उनले भनिन्, ‘वैशाख १७ गतेको घटनामा भएको प्रशासनिक मनोमानीको निश्पक्ष छानविन होस्।’
रेशम चौधरीप्रति भएको व्यवहारको सार्वजनिक जवाफसमेत आउनुपर्ने उनको भनाइ थियो।
अध्यक्ष श्रेष्ठले रेशम चौधरीको गिरफ्तारी एक व्यक्तिको मात्रै विषय नभएको उल्लेख गर्दै यसका कारण समग्र संघीयता, समावेशिता, लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको बताएकी थिइन्।
वैशाख २३, २०८२ मंगलबार १२:१५:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।