रेशम चौधरी पक्राउबारे छानबिन गर्न नागरिक उन्मुक्ति पार्टीको माग

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठले वैशाख १७ गते पार्टीको संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको छानविनको माग गरेकी छन्।
प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै समय माग गर्दै उनले वैशाख १७ गते भएको प्रशासनिक मनोमानीको निश्पक्ष छानविनको माग गरेकी हुन्।
‘यो घटनाको गहिरो अध्ययन होस्। यहाँ मात्र एक जनाको गिरफ्तारी होइन, संघीयता, समावेशिता र लोतकन्त्रप्रतिको विश्वासका चोट लागेको छ,’ उनले भनिन्, ‘वैशाख १७ गतेको घटनामा भएको प्रशासनिक मनोमानीको निश्पक्ष छानविन होस्।’
उनले यस घटनाको बारेमा सरकारले सार्वजनिक रुपमा जवाफ दिनुपर्ने समेत बताएकी छन्। राज्यको संयन्त्रले एक जनाको व्यक्तिगत रिसिइवीलाई कसरी कानूनभन्दन माथि राख्छ भन्दै उनले प्रश्न गरेकी छन्।
उनले भनिन्, ‘कसरी राज्यका संयन्त्रले एक व्यक्तिगत रिसिइवीलाई कानूनभन्दा माथि राख्छन्?’
वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकताको दिनमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरी डिल्लीबजार कारागार पठाएको थियो।
तर, उनी कुनै फैसला भएर थुनिएका थिएनन्, सर्वोच्च अदालतका एक जना कर्मचारीको व्यक्तिगत सनकका आधारमा उनी कार्यक्रमस्थलबाटै उठाइएका थिए। डिल्लीबजार कारागारले उनलाई चार घण्टामै रिहा गरेको थियो।
वैशाख २३, २०८२ मंगलबार १२:०१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।