सार्वजनिक यातायातमा यौन हिंसा : ‘…अत्ति भएपछि मैले दुई थप्पड हानेँ’

सार्वजनिक यातायातमा यौन हिंसा : ‘…अत्ति भएपछि मैले दुई थप्पड हानेँ’

काठमाडौं : मंसिरको पहिलो साता चन्दाकुमारी चौधरी सानोठिमीबाट कोटेश्वर जाँदै थिइन्। जन्मजात दृष्टिविहीन उनी एउटा बस चढिन्। ‘अपांग आरक्षण’ भनेर तोकिएको सीटमा उनलाई बसाइयो। उनी बसिन्।

एक जना व्यक्तिले उनलाई छुँदै म पनि अपाङ्ग हो नी भन्दै बोले। ती व्यक्तिले उनलाई गोडाले छोए। केही बोले। उनले कोही चिनेकै मान्छे हो की भनेर ध्यान दिएर सुनिन्, तर हैन रहेछ। ती व्यक्तिले उनको हात छोए। उनलाई  अप्ठ्यारो महसुस भयो। उनले झट्कारेर आफ्नो हात उम्काइन्। ती व्यक्ति त्यतिकैमा रोकिएनन्, फेरि शरीरलाई नै धकेल्दै जोडले चन्दाको हात मुसार्यो।

‘नगर्नु दाइ! मलाई अफ्ट्यारो भइरहेको छ’ उनले भनिन्। तर, ती व्यक्तिले आफ्नो अश्लिल हर्कत रोकेनन्। ती व्यक्तिले उनको हात समातिरह्यो। त्यतिबेला के गर्ने/नगर्ने भनेर दिमाग नै शून्य भएको उनको अनुभव छ।

‘एक मनले त कस्तो खालको अपाङ्ग रहेछ भन्ने पनि लाग्यो। मैले यस्तो नगर्नु भनेर तीन/चार चोटी नै भने होला,’ उनले भनिन्, ‘अत्ति भएपछि त मैले दुई थप्पड हाने त्यसलाई। पहिला सार्वजनिक यातायातमा दुर्व्यवहार हुँदा प्रतिवाद गर्ने तालिम लिएको काम लाग्यो। थप्पड हानेपछि वरपरकाले ठिक गर्यौं बहिनी भनेका थिए।’

सानोठिमी क्याम्पस पढ्छिन् उनी। बसाई सानोठिमी नै हो तर कामले उपत्यकाका अन्यत्र पनि आउजाउ गर्नुपर्छ। त्यतिबेला धेरैपटक दुर्व्यवहारमा परेकी छन् उनी। अर्को एक दिनको अनुभव पनि सुनाइन् उनले।

एक दिन अगाडिकै सिटमा बसिरहेको बेला पछाडिको सिटबाट हात बढाएर उनलाई कसैले चिमोटेछ। दुई/तीन पटक नै चिमोटेपछि भने उनले ती व्यक्तिको हात बटारिदिएकी थिइन् रे। घटना घटेपछि उजुरी दिनुपर्छ भन्नेमा पनि जानकार नै छन् उनी। तर, उनले उजुरी दिएकी छैनन्।

‘यति धेरै पटक हिंसा हुन्छ कि महिनैपिच्छे जस्तो प्रहरी चौकी जानुपर्छ। साध्यै नै हुन्न त्यसकारण म गएको छैन’, उनले भनिन्।

पढ्न उपत्यका आएकी चन्दा
चार वर्षअघि बुटवलको मैनिहियाबाट काठमाडौं आएकी हुन् चन्दा। पढ्ने सपनाले आएकी उनलाई सार्वजनिक यातायातमा हुने यस्ता हिंसाले बारम्बार दु:ख दिन्छ। उनी र उनका भाइ काठमाडौंमा बसेर पढिरहेका छन्। भाइ पनि दृष्टिविहीन नै हुन्।

बुटवलमा प्राय हिँडेरै नभए बुवाको साइकलमा यात्रा गर्ने गर्दि रहिछन् उनी। पछि सडक फराकिलो हुँदै गएपछि अटो पनि चढिन्। तर, बुटवलमा हुँदा धेरै समय उनको साथको कोही न कोही साथमै हुन्थ्यो। तर, काठमाडौंमा भने उनी एक्लै छिन्।

बुटवलदेखि काठमाडौं आउँदा पनि उनले निकै समस्या भोग्नुपर्छ। पिसाब लाग्दा कहाँ जाने थाहा नहुने हुँदा अप्ठ्यारो पर्ने गरेको बताउँछिन्।

‘अहिले पनि खाना खाने ठाउँमा बाहेक जङ्गलमा पिसाब फेर्नको लागि गाडी रोक्छ,’ उनले भनिन्, ‘अब देख्न सक्नेहरू त जङ्गलमा गएर आउँछन् नि! देख्न नसक्नेलाई नयाँ बाटोमा कहाँ जानु? जाउ/आउ एक्लैले गाह्रो हुन्छ। गइहाल्यो भने पनि कुन चैँ सुरक्षित ठाउँ हो भनेर थाहै हुन्न। त्यै भएर लामो दुरीको यात्रामा पनि च्यापेरै बस्ने हो।’

उपत्यकामा बसिरहँदा उनलाई भक्तपुरबाट कलंकी जानपर्यो भने अप्ठ्यारो हुन्छ रे! भक्तपुरबाट कलंकीसम्म जाने सार्वजनिक यातायातको रुट नै छैन। कोटेश्वर ओर्लेर अर्को गाडी चढ्नुपर्ने हुन्छ। कोटेश्वरको ठूलो रोड र भिडभाडमा अहिले पनि बाटो पहिल्याउन उनलाई सकस हुन्छ। अनि गाडी कहाँबाट चढ्ने भनेर मेसो पाउन निकै गाह्रो हुन्छ।

त्यस्तै भक्तपुरबाट रानीवन जान पनि गाह्रो भएको उनले बताइन्। बालाजु, माछापोखरी पुग्न पर्दा उनलाई प्राय गाडीले गोंगबुमै ओरालेको अनुभवहरू पनि रहेछ। अहिलेसम्ममा उनले काठमाडौंको सबै सार्वजनिक यातायात पुग्ने ठाउँसम्म यात्रा गरिसकेकी छन्। गाडीमा बस्नुभन्दा अघि र गन्तव्यमा नपुगेसम्म उनी पूरै सहचालकै भर पर्नुपर्ने रहेछ।

‘खलासी भएन भने हामी गाडी चढ्नै पाउदैनौँ'
‘एउटा त हामीलाई देखेपछि गाडी नै रोक्दै रोक्दैन,’ उनले भनिन्, ‘गाडी आउने ठाउँ पहिल्याएर उभिएर बसेपछि गाडी आएको थाहा हुन्छ अनि खलासीकै आवाज सुनेपछि हामी यसमा चढ्ने हो कि होइन भने छुट्याएर चढ्ने हो। कति खलासीहरू त बोल्दै बोल्दैन। खलासी बोलेन अथवा त्यहाँ खलासी छैन भने त हामीले गाडी पनि चढ्न पाउदैनौँ।’

गाडी कहाँ जानेदेखि सिट मिलाइ दिनेसम्मको भूमिका सह-चालककै हुन्छ। यात्रुसँग झगडै गरेर सिट मिलाइदिएको देखि ‘एकछिन उभिएरै बस्नु’ भन्नेसम्मका सहचालकसँग उनी ठोक्किएकी छन्। अनि कतिले अपाङ्गताको अधारमा आफैँ गाडीभाडा छुट दिने गरेको र कसैले भने निर्धारित भाडा भन्दा बढी लिएको उनको अनुभव छ।

भक्तपुरबाट चल्ने केही गाडीमा सहचालकको सट्टामा स्पिकर बजाइने गरिन्छ। अगाडि नै आएर गाडी रोके पनि स्पिकरको आवाज स्पष्ट नभएपछि ड्राइभरसँग सोध्न जानुपरेको अनुभव त कति हो कति। तर, ड्राइभर भएको ठाउँ नजिक जाँदासम्म गाडी तोकिएको स्थानभन्दा अगाडि गइसकेको हुन्छ।

‘खलासीको मुड ठिक छ भने हामीलाई सबै राम्रो हुन्छ। खलासीको मुड बिग्रिएको छ भने त गाडी छुट्छ,’ उनी भन्छिन्, ‘हामी अगाडिको सीटमा बस्दा खलासीले ठाउँको नाम भनिरहेको हुन्छ। त्यही सुनेर पनि हामीले यहाँ आइपुगेछौँ, यता ओर्लिने भनेर ठम्याउने हो।’

अपाङ्गता भएकालाई सार्वजनिक यातायातमा सधैँ गाह्रो
यी त यौन दुर्व्यवहारकै कुरा भयो। अपाङ्गता भएका व्यक्तिहरूमध्ये सबैभन्दा बढी सार्वजनिक सवारीको यात्रा गर्नेहरूमा दृष्टिविहीनहरू नै भएको अध्ययनहरूले देखाउँछ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अनुसार शारीरिक अङ्ग वा प्रणालीमा भएको समस्या तथा कठिनाइको आधारमा दश प्रकारका अपाङ्गता भएका व्यक्तिहरू हुने गर्छ।

यसमध्ये साथीको सहयोग विनै सार्वजनिक यातायातको यात्रा गर्न सक्नेहरूमा केही हदसम्म दृष्टिविहीनहरू नै हुन्। अन्य अपाङ्गता भएका व्यक्तिहरू चाहेर वा बाध्यताले पनि सार्वजनिक सवारीको यात्रा गर्न असमर्थ छन्। किनभने नेपालको सार्वजनिक सवारी साधन अपाङ्गमैत्री छँदै छैन।

दृष्टिविहीन भएकाहरूले पनि सार्वजनिक यातायात चढ्दा धेरै अप्ठ्यारो महसुस गर्न परेपछि यसको विकल्पमा अहिले पठाओ/इनड्राइभ लगायतका वैकल्पिक माध्यम प्रयोग गर्न थालेको देखिन्छ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडीपी) नेपालको सहयोग र राष्ट्रिय तथ्याङ्क कार्यालयसँगको सहकार्यमा तयार पारेको ‘अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्कीय प्रतिवेदन’ अनुसार नेपालमा कुल जनसंख्या ६ लाख ४७ हजार सात सय ४४ जना अपाङ्गता भएका व्यक्ति छन्। यो भनेको कुल जनसंख्याको दुई दशमलव दुई प्रतिशत हो।

गाडीमा ठूलो आवाजले बजाइने स्पिकरहरूले गर्दा समेत उनीहरूलाई यात्रामा समस्या हुने गरेको पाइयो। कुनै पनि ठाउँमा पुग्नको लागि निश्चित समयभन्दा एक घण्टा अगाडि नै कोठाबाट निस्किसक्नुपर्ने गुनासो उनीहरूको छ। अनि आठ बजेपछि अपाङ्गता भएको परिचय पत्र नचल्ने भनेर पूरै गाडीभाडा उठाउने गरेका छन्।

अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ को दफा १० को उपदफा ३ अनुसार कुनै पनि सार्वजनिक यातायातको यात्रा गर्दा अपाङ्गता भएको व्यक्तिलाई र निरन्तर सहारा चाहिने भए उनीसँगै हिँड्ने व्यक्तिलाई समेत यात्रु भाडाको आधा छुट दिन सकिने व्यवस्था छ। तर, यहाँ त साथीलाई त परको कुरा स्वयं अपाङ्गता भएका व्यक्तिलाई समेत बढी भाडा लिने गरेको समेत देखियो।

‘कहिलेकहीँ त त्यै भएर इनड्राइभमा चढेर जाने गर्छु। सधैँ एक घण्टा अगाडि निस्किन सम्भव हुँदैन,’ उनले भनिन्, ‘अनि कहिले फेरि कुनै ठाउँमा अबेर भएपछि गाडी नै पाइँदैन राति। त्यस्तो बेला सार्वजनिक यातायातको विकल्पमा इनड्राइभकै भर हो। तर फेरि बाइकमा बसिसकेपछि ठ्याक्कै त्यो ठाउँमा नपुगेसम्म कहाँ पुग्यो, वरपर के भइरहेको छ भन्ने थाहै हुँदैन।’

इनड्राइभ सुरक्षित नै भए पनि चालकले वरपरको ठाउँ र अवस्थाको बारेमा जानकारी नदिँदा ‘डर’ लाग्ने उनले बताइन्।

‘बाटोमा जाम छ, यो बाटो हिडिरहेका छौँ भन्ने मात्र जानकारी पाए भने सहज हुन्छ’, उनले भनिन्।

श्रृंखलाका अन्य सामग्री

वैशाख २३, २०८२ मंगलबार ११:१८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।