देशका यी स्थानमा वर्षाको सम्भावना, प्रि-मनसुनमा सरदरभन्दा बढी वर्षा

काठमाडौं : देशको मौसमी प्रणालीमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पछिल्लो एक घन्टामा उदयपुरको कटारीमा १८.८ मिलिमिटर वर्षा मापन गरिएको छ। मोरङको हैरैचा र लेटाङमा ९.८–९.८ मिलिमिटर, विराटनगरमा २.६ मिलिमिटर वर्षा भएको छ।
मंगलबार देशका अधिकांश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए। हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावनासमेत रहेको छ।
महाशाखाले वर्षाको सम्भावित असरका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
मनसुन सुरू हुन अझै करिब एक महिना बाँकी भए पनि यस वर्ष सुदूरपश्चिम प्रदेशमा उल्लेख्यसहित सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण आएको छ।
प्रि-मनसुन अवधिमा पनि अपेक्षाभन्दा बढी वर्षा भएको महाशाखाले जनाएको छ। फागुन १७ देखि वैशाख २२ सम्म ११८.६ मिलिमिटर वर्षा भएको छ, जुन सरदरको तुलनामा ५१.८ प्रतिशतले बढी हो।
वैशाख २३, २०८२ मंगलबार ०७:२६:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।