वर्षाले खेल रद्द भएसँगै हैदरावाद प्लेअफबाट बाहिरियो

वर्षाले खेल रद्द भएसँगै हैदरावाद प्लेअफबाट बाहिरियो

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीचको खेल वर्षाका कारण रद्द भएको छ।

राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर हैदराबादले फिल्डिङ रोजेपछि दिल्लीले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन बनायो।

तर, हैदराबादलाई १३४ रनको लक्ष्य दिएपछि वर्षाले खेल अवरुद्ध गरायो र हैदराबादले इनिङ्स सुरुवात नै गर्न सकेन। अन्ततः खेल रद्द गरिएको घोषणा गर्दै दुवै टिमलाई एक–एक अंक प्रदान गरिएको छ।

दिल्लीका लागि खेलको सुरुवात निकै निराशाजनक रह्यो। पावरप्लेभित्रै उसले ४ विकेट गुमाएर मात्र २६ रन बनाउन सक्यो। हैदराबादका बलर प्याट कमिन्सले घातक सुरुवात गर्दै करुण नायरलाई शून्य, फाफ डु प्लेसिसलाई ३ र अभिषेक पोरेललाई ८ रनमा आउट गरे।

कप्तान अक्षर पटेल ६ रनमा तथा केएल राहुल १० रनमा पवेलियन फर्किएपछि दिल्ली २९ रनमै पाँच विकेट गुमाएको थियो। त्यसपछि विपराज निगमले १८ रन जोड्दा रन आउट भए।

तर, ट्रिस्टान स्टब्सले अविजित ४१ रन र आशुतोष शर्माले आठौं क्रममा आएर ४१ रन बनाउँदै टोलीलाई संघर्षपूर्ण स्कोरसम्म पुर्याए। कमिन्सले ४ ओभरमा १९ रन दिँदै ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे।

यस बराबरीसँगै दिल्ली ११ अंक जोडेर लिग तालिकाको पाँचौं स्थानमा छ भने हैदराबाद ७ अंकसहित आठौं स्थानमा उक्लिएको छ।

वैशाख २३, २०८२ मंगलबार ०७:२०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।