श्रीमतीले ‘गर्लफ्रेन्ड’बारे थाहा पाएपछि जंगलमा लगेर श्रीमानले गरे हत्या

श्रीमतीले ‘गर्लफ्रेन्ड’बारे थाहा पाएपछि जंगलमा लगेर श्रीमानले गरे हत्या

सुर्खेत : आइतबार सुर्खेतको भेरीगंगा नगरपालिका-१२ स्थित झिंगेनारा खोलामा एक शव भेटियो। भेटिएको शव गुर्भाकोट नगरपालिकाकी २६ वर्षीया प्रेमा ओलीको थियो। हत्या उनकै श्रीमानले गरेको खुल्यो। नेपाली सेनामा कार्यरत २८ वर्षीय दर्शन खत्रीले श्रीमती प्रेमा ओलीको हत्या गरेको प्रहरी समक्ष स्वीकारेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, श्रीमान्–श्रीमतीबीच पाँच वर्षदेखि नियमित रूपमा झगडा हुँदै आएको थियो।  खत्रीको अन्य महिलासँगको सम्बन्धबारे थाहा पाएपछि सम्बन्धमा तनाव बढेको अनुसन्धानबाट खुलेको छ।

‘दर्शन सेनामा कार्यरत भएपछि अन्य महिलाहरूसँग सम्बन्ध बनाउनतिर लागे। बाहिर तीन जना गर्लफ्रेन्ड रहेछन्। त्यो कुरा प्रेमाले चाल पाएपछि झगडा हुन थालेछ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले भने, ‘विवाह भएको वर्षदेखि झगडा हुँदै आएको रहेछ । सोमबार काभ्रेबाट आएर बजारमा भेटेपछि भनाभन भएछ। अनी जंगलमा लगेर हत्या गरेछन् ।’

घटनापछि जिल्ला अदालत सुर्खेतबाट पाँच दिनको म्याद थप गराई खत्रीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकका माइती पक्षले सोमबार इलाका प्रहरी कार्यालय छिन्चुमा ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता गराएका छन्।

भेटघाटपछि विवाद, जंगलमा लगेर हत्या

दर्शन र प्रेमाबीच सात वर्षअघि प्रेम विवाह भएको थियो। केही समयपछि दर्शन नेपाली सेनामा भर्ती भएका थिए। उनी हाल काभ्रेको वीरदल गणमा कार्यरत छन्। उनीहरूकी एक छोरी पनि छन्।

प्रहरी अनुसन्धान अनुसार, शनिबार दर्शन बिदामा घर आएका थिए। उनी प्रेमालाई छिन्चु बजारमा भेट्न बोलाएर जंगलतिर लगेका थिए। त्यहाँ झगडा चर्किएपछि दर्शनले ढुङ्गाले प्रेमाको टाउकोमा प्रहार गरेका थिए। त्यसपछि सलले घाँटी कसेर हत्या गरी खोल्सामा शव फालेको अनुसन्धानबाट खुलेको छ।

हत्या गरेपछि दर्शन राति ८ बजेतिर घर फर्किएका थिए। आइतबार बिहान जंगलमा थाकल टिप्न गएका स्थानीयले खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको टोली कुकुरसहित घटनास्थल पुगेको थियो। ‘केटाले केटीलाई तेरो अर्को केटा छ भन्ने, अनि केटीले केटालाई तेरो अर्को केटी छ भन्ने रहेछन्,’ प्रहरी प्रमुख खड्काले भने, ‘त्यही विषयमा दुई जनाबीच सधैँ झगडा भइरहँदो रहेछ, अहिले यस्तो घटना भयो।’

श्रीमतीलाई बोलाएको ह्वाट्सएप च्याटसहितको प्रमाण समेत प्रहरीले बरामद गरेको छ। प्रेमाको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको छ।

वैशाख २२, २०८२ सोमबार २१:४४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।