‘सिप मेलाले सिपयुक्त जनशक्ति र रोजगारदाता बीच पुलको भूमिका खेल्छ’

काठमाडौं : काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ‘सिप मेला २०८१’ ले सिपयुक्त जनशक्ति र रोजगारदाता बीच पुलको भूमिका खेलेको उद्योग क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। प्रमुख बालेन्द्र शाह (बालेन) सँगको छलफलमा उनीहरूले मेलाबाट सकारात्मक परिणाम आएको भन्दै आउँदो मेलामा सहकार्य गर्न तयार रहेको जनाएका छन्।
शाहले जेठ ७ गतेदेखि टुँडिखेलमा फेरि मेला आयोजना हुने जानकारी दिँदै उद्योग क्षेत्रसँग सहकार्यमा आधारित तालिम सञ्चालन गरिने बताए। निजी क्षेत्रले आवश्यक जनशक्तिको माग महानगरलाई दिँदा सोहीअनुसार तालिम सञ्चालन गर्ने स्पष्ट पारे। मेयर शाहले यस्ता तालिमबाट मानव पुँजीका रुपमा उत्पादन भएका जनशक्तिलाई रोजगारमा आवद्ध गराउन निजी, उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य अगाडि बढाएको बताए। उनले मानव पुँजी र निजी, उद्योग तथा वाणिज्य क्षेत्रका बिचमा भएको सम्वन्ध खाडल पुर्ने प्रयास गर्ने बताए।
छलफलमा उद्योगीहरू शेखर गोल्छा, सुरज वैद्य, कुमुद दुगड, निर्भाण चौधरीलगायतले सिपमूलक तालिमले जनशक्ति अभाव कम गर्न सहयोग पुगेको धारणा राखे। सेवा निवृत्त जनशक्तिलाई समेत श्रम क्षेत्रमा जोड्ने, वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमै रोजगारीको वातावरण बनाउने सुझावसमेत दिए।
२०७८ मा २,७२५ जनाले तालिम पाएका थिए, जसमा करिब १,२०० जनाले रोजगारी पाएको महानगरले जनाएको छ। नयाँ आर्थिक वर्षमा १५ हजारलाई तालिम दिई ५ हजारलाई रोजगारी दिने लक्ष्य छ।
वैशाख २२, २०८२ सोमबार १९:५५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।