ओली सरकारको पहिलो निर्णय नै खेर, ३०० दिनमा ठडिएन फ्लडलाइट

ओली सरकारको पहिलो निर्णय नै खेर, ३०० दिनमा ठडिएन फ्लडलाइट

काठमाडौं : ओली सरकार गठन भएपछिको पहिलो निर्णय थियो- कीर्तिपुरस्थित क्रिकेट मैदानलाई ३०० दिनभित्र अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट सहितको रंगशाला बनाउने। ३०० दिन पुग्न अब दुई दिन मात्रै बाँकी छ। काम सकिएको छैन। 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै काम ढिलाइको कारण भन्दै म्याद लम्बाए। 

मैले आज शहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर ‘किन समयमै काम नसकेको?’ भनेर स्पष्टीकरण लिएको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

जवाफमा जिम्मेवार पक्षहरूले त्रिभुवन विश्वविद्यालयको जग्गा प्राप्तिमा ढिलाइ, रुख काट्ने कानुनी प्रक्रिया, डिजाइन परिमार्जन र निर्माणपछि परेको पानीले माटो पन्छाउनु परेको जस्ता कारण देखाए।

ओलीले तीन सिफ्टमा काम गर्दा पनि समयमै सक्न नसकिएको जवाफ पाए। ओलीले अब थप दुई महिनाभित्र प्यारापिट निर्माण र फ्लडलाइट जडान सक्ने आश्वासन दिएका छन्। ‘असारको अन्तिम सातासम्म पक्कै हामीले कीर्तिपुरमा क्रिकेट रंगशाला पाउनेछौं,’ प्रधानमन्त्री ओलीले लेखेका छन्।

वैशाख २२, २०८२ सोमबार १९:१६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।