क्रिकेट मैदानमा फर्किन पाउने भए आदिल, क्यानले फुकायो प्रतिबन्ध

क्रिकेट मैदानमा फर्किन पाउने भए आदिल, क्यानले फुकायो प्रतिबन्ध

काठमाडौं : क्रिकेट खेलाडी मोहम्मद आदिल आलमको स्पष्ट फिक्सिङको आरोपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको प्रतिबन्ध फुकुवा भएको छ। क्रिकेट एसोसिएसनका अनुसार एसोसिएसनको इन्टिग्रिटी कमिटीले आवश्यक प्रक्रिया पूरा गरेर उनको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।

एसोसिएसनका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुन पाउने गरी २०८२ वैशाख २१ देखि प्रतिबन्ध फुकुवा गरिएको हो।

२०७९ पुस ९ देखि २७ गतेसम्म काठमाडौँमा आयोजना भएको नेपाल टी-२० क्रिकेट लिगको क्रममा उनीमाथि स्पट फिक्सिङमा संलग्न भएको आरोप लागेको थियो। पछि उनले अदालतबाट सफाइ पाए पनि प्रतिबन्ध कायमै थियो।

राष्ट्रिय टिममा परेको सात महिनामै १९ वर्षीय आदिलमाथि स्पट फिक्सिङमा संलग्न रहेको आरोप लागेको थियो। विवादित नेपाल टी–२० लिगमा जनकपुर रोयल्सबाट खेलिरहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। उनीसँगै पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलमसमेत पक्राउ परेका थिए।

तीन लाख धरौटीमा छुटेका उनीसहित पाँचै जनाले लिगमा स्पट फिक्सिङ गरेको अभियोगबाट काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका थिए।

वैशाख २२, २०८२ सोमबार १७:३५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।