क्यालिफोर्नियाको कुख्यात कारागार अल्काट्राज पुन चलाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको एउटा सानो टापुमा रहेको कुख्यात अल्काट्राज कारागार पुन खोल्न निर्देशन दिएका छन्। कुख्यात अपराधीहरूलाई राख्न प्रयोग गरिने यो कारागारको उच्च सञ्चालन खर्चका कारण ६ दशक अगाडि बन्द गरेर अहिले पर्यटकिय आकर्षणको रूपमा प्रयोग हुँदै आएको छ।
ट्रम्पले सो कुख्यात सङ्घीय कारागारको पुनर्निर्माण गरेर पुन सञ्चालनमा ल्याउन निर्देशन दिए।
राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा अल्काट्राज पुनर्निर्माण गरेर खोल्न लेख्दै कारागार ब्युरो, न्याय मन्त्रालय, एफबिआई र होमल्यान्ड सेक्युरिटीसँग मिलेर अमेरिकाका सबैभन्दा निर्दयी र हिंसात्मक अपराधीहरूलाई राख्न विस्तारित र पुनर्निर्माण गरेर फेरि खोल्न निर्देशन दिएका हुन्।
अमेरिकी कारागार ब्युरोका अनुसार अल्काट्राज २९ वर्ष सञ्चालनमा रहेर धेरै खर्च भएकाले सन् १९६३ मा बन्द भएको थियो।
सान फ्रान्सिस्को तटबाट दुई किलोमिटर दूरीमा अवस्थित यसमा तीन सय ३६ कैदी अट्ने गरेका थिए। माफिया नेता अल कापोन जस्ता केही कुख्यात अपराधीहरूलाई यही जेलमा राखिएको थियो।
‘जब हामी अझ गम्भीर राष्ट्र थियौँ, विगतमा हामीले सबैभन्दा खतरनाक अपराधीहरूलाई बन्द गर्न र उनीहरूलाई हानी गर्न सक्ने कसैबाट टाढा राख्न हिचकिचाउँदैनौँ। यो यस्तै हुनुपर्छ’, ट्रम्पले लेखेका छन् ‘अब हामी यी सिरियल अपराधीहरूलाई सहन सक्दैनौँ जसले हाम्रो सडकमा फोहोर, रक्तपात र अराजकता फैलाउँछन्।’
कारागार ब्युरोका अनुसार यसको सञ्चालन खर्चसँगै अतिरिक्त मर्मत र पुनः स्थापना कार्यका लागि मात्र अनुमानित ३० लाख डलरदेखि ५० लाख डलर थप आवश्यक पर्ने गरेको थियो। हरेक वर्ष १० लाखभन्दा बढी आगन्तुक ल्याउँदै यो सन् १९७३ मा पर्यटक स्थलका रूपमा खुलेको थियो।
‘यो अहिले एक धेरै लोकप्रिय राष्ट्रिय पार्क र प्रमुख पर्यटकीय आकर्षण हो’, सान फ्रान्सिस्कोको प्रतिनिधित्व गर्ने हाउसकी पूर्व सभामुख न्यान्सी पेलोसीले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, ‘राष्ट्रपतिको प्रस्ताव गम्भीर छैन।’
वैशाख २२, २०८२ सोमबार १६:११:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।