नाच्न नजान्ने दुई हिरोका गफ : नाच्ने खगेन्द्र, नाच्न सिकाउने गुरु दयाहाङ

काठमाडौं : दयाहाङ राईको फिल्ममा नाच्ने आफ्नै पारा छ। उनलाई नचाउने मान्छे नै सिकाउँदा सिकाउँदै थाक्छन् तर उनी आफ्नो पारा छाड्दैनन्। उनको नाच समेटिएका गीत हेर्दा नै यसको पुष्टि हुन्छ। उनी आफैँले पनि कमजोरी स्विकार्छन्।
प्राय फिल्ममा राखिने उनका नाचमा उनले अप्ठ्यारो पारामा नाचेको पनि देखिन्छ। तर निर्देशकले नचाउन छाडेका छैनन्। फिल्म ‘महाभोज’को गीत ‘लालुमै’ मै पनि उनले नाचेका छन् आफ्नै पारामा। अर्का अभिनेता खगेन्द्र लामिछानेले पनि नाच्ने हिम्मत गरेका छन् यसैमा। तर दुवैको पारा एकै खालको रैछ। अनि उनीहरूले गीत सार्वजनिक कार्यक्रममा आफ्नो कमजोरी लुकाएनन् पनि।
दयाहाङले आफू नाच्दा हात र खुट्टाको स्रिंक नै नमिल्ने गरेको अनुभव सुनाए। अनि खगेन्द्रले पनि आफूलाई कहिल्यै नाच्न नआएको स्वीकारे। अझ उनले अर्को रोचक प्रसङ्ग सुनाए, उनलाई नाच्न दयाहाङले सिकाएका रे।
‘म अलिक नाच्न नजान्ने, यो फिल्ममा त २ वटा गीत रहेछ। पहिल्यै म झन्डै बेहोस भएको। सुनिल क्षेत्रीसँग त मैले यो गीतभन्दा अगाडि नै काम गरिसकेको थिएँ। कता कताबाट घुमाई फिराई नचाइहाल्छु हुन्छ,’ खगेन्द्रले भने ‘अनि म ढुक्क थिए। किनभने म यस्तो गुरु (दयाहाङ)यहीँ हुनुहुन्छ डान्स सिकाउने, महागुरु यहीँ हुनुहुन्छ (आर्यन)। गुरु र महागुरुकोबीचमा नाच्न के गाह्रो।’
खगेन्द्रका कुरा सुनेपछि दया र आर्यनसँगै कार्यक्रमका उपस्थितहरू पनि हाँसे। खगेन्द्रको गफ सकिएपछि दयाहाङ राईको हातमा माइक पुग्यो। दया पनि खगेन्द्र भन्दा के कम, उनले आफू भन्दा अलिअलि नजान्ने केटो भेटियो भन्दै हँसाए।
‘मलाई पनि ढुक्क। म नजान्ने भनेको, म भन्दा अलिअलि नजान्ने पनि रैछ एउटा केटो (खगेन्द्र)’ उनले भने।
दयाहाङ आफ्नो गीतको सुटिङका अनुभव रोक्ने पक्षमा देखिएनन्। उनले अगाडि निश्चलतर्फ अनुहारले हेर्दै भने,‘सेटमा पुग्दा गीत छ भन्ने थाहा पाएपछि निश्चल (निश्चल बस्नेत) असिनपसिन भएर दिइरा थियो। हामीले त नाच्नु पर्दैन होला भने जस्तो लागिरहेको थियो। सुनिलजी आएर अलिकति यसो भन्नुभयो। उहाँले त्यसो भनेपछि हेरे आँगन टेढो छ। अलिअलि गरेर खास्लाख खुस्लुक गरियो।’
नाच्न जान्ने भएर पनि यो फिल्मको गीतमा नाच्न नपाएका आर्यन सिग्देल रहेछन्। दयाहाङले तीन जनामा आर्यन वेस्ट डान्सर रहेको सुनाए। गीतको भिडियोमा निश्चल बस्नेतले पनि नाचेका छन्। पुजार सार्कीका निर्देशक दिनेश राउतको निर्देशनमा बनेको यो फिल्ममा दयाहाङ, खगेन्द्र,आर्यनसँगै गौमाया गुरुङ, अञ्जना बराइली, मलिका महतदेखि वसुन्धरा भुसालसम्म छन्। फिल्म जेठ १५ गते रिलिज हुँदैछ।
वैशाख २२, २०८२ सोमबार १५:२२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।