हरेक नियुक्तिमा स्वार्थ समूह हाबी भएको दाबी गर्दै प्रचण्डले भने ‘दुई तिहाइको बेलुन फुटिसकेको छ’

काठमाडौं : प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारको बेलुन फुटिसकेको दाबी गरेका छन्। सोमबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारको कार्यशैलीको कडा आलोचना गरे।
‘एक महिना बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन। मैले हेर्दा दुई तिहाइको अहंकारको बेलुन फुटिसकेको देख्छु,’ प्रचण्डले भने।
उनले हरेक नियुक्ति र निर्णयमा स्वार्थ समूह हाबी भएको आरोप लगाउँदै जनताले सेवा सहज रूपमा पाउन नसकेको र सार्वजनिक संस्थानमा चरम राजनीतिकरण भइरहेको बताए।
प्राविधिक रूपमा सरकार नढले पनि जनताको नजरमा नैतिक रूपमा सरकार ढलिसकेको उनको दाबी छ।
भूमिहीन र सुकुम्वासीको अधिकार उपेक्षित
प्रचण्डले प्रतिनिधि सभामा सरकारले भूमिहीन र सुकुम्वासीको अधिकारको बेवास्ता गर्दै माफियामैत्री नीति अघि बढाएको आरोप समेत लगाए। उनले नीति तथा कार्यक्रममा भूमिहीनको व्यवस्थापनका लागि एक लाइन मात्र लेखिएको भन्दै असन्तुष्टि जनाए।
‘भूमिहीनको अधिकारलाई त्यति हल्का लिँदा, माफियाका पक्षमा भूमिसम्बन्धी विधेयक ल्याउन सरकारको के आधार छ?’ उनले प्रश्न गरे, ‘यसरी भूमिहीन र सुकुम्वासीलाई राज्यले महत्त्व नदिँदा सरकारको समावेशिता र सामाजिक न्यायका दाबी कमजोर बनिरहेका छन्।’
प्रि-बजेट छलफल प्रावधान परिवर्तनप्रति आपत्ति
प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले बजेट प्रस्तुत हुनु भन्दा तीन महिना अगावै प्रि-बजेट छलफल गर्नुपर्ने प्रावधान ल्याएको थियो। तर वर्तमान सरकारले यसलाई परिवर्तन गरी बजेट आउनु भन्दा केवल १५ दिन अगाडि प्रि-बजेट छलफल गरे हुने व्यवस्था गरेको छ।
प्रचण्डले आफू नेतृत्वको सरकारले बजेट आउनु भन्दा तीन महिना अगावै संसद्मा प्रि-बजेट छलफल हुने व्यवस्था गरेकोमा वर्तमान सरकारले यो प्रावधान हटाएको भन्दै असन्तुष्टि जनाए।
‘सांसदहरूका मातहरुलाइ पनि महत्त्व दिने र परम्परागत तरिकाले सांसदले विचार राख्ने तर त्यो नीति तथा कार्यक्रममा परिमार्जन नहुने अलोकतान्त्रिक तरिका तोड्नु पर्छ भनेर गत वर्ष नयाँ पहल गरेको थिएँ,’ प्रचण्डले भने।
प्रचण्डले यो परिवर्तनलाई ‘दुई तिहाइको घमन्ड’ र ‘निरंकुशवादी चिन्तन’ भन्दै आलोचना गरेका थिए।
वैशाख २२, २०८२ सोमबार १४:५४:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।