किराना सामानको बीचमा लुकाएर लैजाँदै गरेको लत्ताकपडा बोकेको ट्रक पाल्पाबाट नियन्त्रणमा

पाल्पा : किराना सामानभित्र लत्ताकपडा लुकाएर म्याग्दीतर्फ लैजाँदै गरेको ट्रक सशस्त्र प्रहरीले पाल्पाबाट नियन्त्रणमा लिएको छ।
रुपन्देहीको भैरहवाबाट म्याग्दीतर्फ जाँदै गरेको लु १ ख ५४५३ नम्बरको ट्रक बैशाख २१ गते राति साढे १ बजे, पाल्पाको तानसेन नगरपालिका-१, राईडाडास्थित सिद्धार्थ राजमार्गबाट नियन्त्रणमा लिइएको हो।
नियन्त्रणको क्रममा ट्रक चालक फरार भएका छन् भने बुटवल उपमहानगरपालिका-१३, बेलवास निवासी सहचालक २० वर्षीय सहचालक मिखिल पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गुल्म, पाल्पाको टोलीले बिलविजकबिहीन लत्ताकपडा लुकाइएको ट्रक नियन्त्रणमा लिएको हो।
उक्त ट्रकमा किराना तथा खाद्यान्नका सामानभित्र लुकाई राखिएका १८ पोका लत्ताकपडा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ। किराना तथा खाद्यान्न सामानको बिलविजक भए पनि लत्ताकपडाको बिलविजक नभेटिएको हो।
लत्ताकपडा रुपन्देहीको सिद्धार्थनगर-४, गल्लामण्डीस्थित प्रतिक किराना स्टोरबाट म्याग्दी, बेनीस्थित सम्झना ट्रेडर्सको नाममा पठाइँदै गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
नियन्त्रणमा लिइएको ट्रक र सहचालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवलमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
वैशाख २२, २०८२ सोमबार १३:३३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।